उद्योगमा तत्कालै बिजुली जोड्न महासंघको माग, ‘विवाद वार्ताद्धारा समाधान गर्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजुली काटिएका उद्योगहरूमा तत्कालै लाइन जोड्न माग गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै उद्योगहरूमा लाइन जोड्न माग गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै हिजो ३४ उद्योगको लाइन काटेको थियो । त्यसको भोलिपल्टै विज्ञप्ति जारी गर्दै महासंघले आफ्नो धारण राखेको हो ।

महासंघले लामो समयदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्धारा समाधान गर्न आग्रह समेत गरेको छ ।

‘…अत: तत्कालै काटिएको सम्पूर्ण उद्योगहरूको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाको लागि डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धि लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न महासंघ नेपाल सरकार एवं अन्य सम्बन्धित निकाय समक्ष माग गर्दछ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने महासंघको भनाइ छ ।

विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए/नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विधुत प्राधिकरण बीच मत भिन्नता रहँदै आएको छ । प्राधिकरणले उद्यमीले प्रिमियम सुविधा लिएकाले सबै महसुल तिर्नुपर्ने बताउँदै आएको छ भने व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको मात्रै महसुल तिर्ने बताउँदै आएका छन् ।

यो विवाद समाधानका लागि अघिल्लो सरकारका पालामा सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन् । सोही आयोगको सुझाव अनुसार नै विवाद समाधान गर्न महासंघले दुवै पक्षलाई आग्रह गरेको छ ।

बाढीपहिरोको क्षतिबाट साढे ९ अर्बको बीमा दाबी, ३० करोड भुक्तानी Read Previous

बाढीपहिरोको क्षतिबाट साढे ९ अर्बको बीमा दाबी, ३० करोड भुक्तानी

वीरगंज नाकाबाट चारपाँग्रे सवारी आयातमा भारी गिरावट Read Next

वीरगंज नाकाबाट चारपाँग्रे सवारी आयातमा भारी गिरावट