नेप्से घट्दा सरकारलाई पनि घाटा, सेयर बजारबाट हुने आम्दानी ७७% घट्यो

काठमाडौं । असोजमा महिनामा सेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकरमा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षको भदौको तुलनामा असोजमा पूँजीगत लाभकर ७७.२६ प्रतिशतले घटेको हो ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार असोज महनिामा सेयर कारोबार बापत कुल ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ । यो भदौको तुलनामा १ अर्ब ९९ करोड रुपैयाँ कम हो ।

भदौमा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ कर उठेको थियो । चालु आवको साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो । चालु आवको ३ महिनामा ७ अर्ब ३९ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको छ ।

यद्यपि, गत वर्षको असोजको तुलनामा भने चालु आवको असोजमा पूँजीगत लाभकर अढाई गुणाले बढेको छ । गत वर्ष असोज २१ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको थियो ।

चालु आवको साउनको तुलनामा भदौ र असोजमा नेप्से परिसूचक घट्दा राजस्व पनि प्रभावित भएको हो । साथै, असोजमा दशैं बिदाका कारण सेयर बजार बन्द भएकाले पनि पूँजीगत लाभकर केही घटेको हो ।

गत असार १७ गते संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेसँगै नेप्से लगातार बढेर ३००० बिन्दुसम्म पुगेको थियो । साथै, साउनमा एकैदिन कीर्तिमानी २९ अर्ब ९५ करोडसम्मको कारोबार भएको थियो। दैनिक कारोबार र परिसूचक दुवै बढ्दा साउनमा सरकारले एकै महिना सवा ४ अर्ब रुपैयाँ राजस्व पाएको थियो ।

तर, भदौदेखि नेप्से परिसूचक र कारोबार दुवै ओरालो लागेको छ । परिसूचक ३ हजार बिन्दुबाट २४५० बिन्दु हाराहारीसम्माम आएको थियो भने कारोबार रकम पनि दैनिक ४ अर्ब हाराहारीमा झरेको छ । जसकारण पूँजीगत लाभकर ह्वात्तै घटेको हो ।

लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।

कर्णालीमा १ हजार ७९५ नयाँ उद्योग दर्ता Read Previous

कर्णालीमा १ हजार ७९५ नयाँ उद्योग दर्ता

ग्लोबल आइएमई बैंकले देशकै ठूलो सोलार परियोजनामा लगानी गर्ने Read Next

ग्लोबल आइएमई बैंकले देशकै ठूलो सोलार परियोजनामा लगानी गर्ने