दशैंको पाँच दिनमै २ लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं । बडादशैंको ५ दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल २ लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।

विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैंको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले  हवाई यात्रा गरेका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते)सम्म आन्तरिकतर्फ २ हजार १५९ र अन्तर्राष्ट्रियतर्फ ७८१ गरी कुल २ हजार ९४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो । 

दशैंको दुई दिन अर्थात् असोज  २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल ४ लाख २७ हजार ९४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार ८४७ र अन्तर्राष्ट्रियतर्फ २ लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् । 

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ ५ हजार १०८ र अन्तर्राष्ट्रियतर्फ १ हजार ७४४ गरी कुल ६ हजार ८५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ । 

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।  

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् ।

 दशैंको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका  ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।

नेपाल लाइफद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान Read Previous

नेपाल लाइफद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान

अपि पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

अपि पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन