दशैंमा पायो कर्णालीको स्याउले बजार, भारतीय सीमा क्षेत्रका बजारमा पनि पुग्यो

काँक्रेविहार । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैंमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए।

उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए । ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ,’ अध्यक्ष कँडलेलले भने ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए ।

वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो १५० देखि २५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो १६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि १२० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए।

दशैंमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए ।

दशैंको दुई दिनमै ६३ हजारले गरे हवाईयात्रा Read Previous

दशैंको दुई दिनमै ६३ हजारले गरे हवाईयात्रा

३७ देशलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक Read Next

३७ देशलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक