भारतले अनुदानमा ११२ किमी लामो पेट्रोलियम पाइपलाइन बनाइदिने, भयाे सम्झाैता

काठमाडौं । भारत सरकारले अनुदानमा नेपालमा दुई वटा पेट्रोलियम पाइप लाइन निर्माण गरिदिने भएको छ । भारत सरकारले कुल ११२ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन निर्माण गरिदिने भएको हो ।

बिहीबार नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन बीच पाइपलाइन निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा निगममा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहमा भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमार उपस्थित थिए ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ । जसमा भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर पाइपलाइन निर्माण हुने भएको हो । । साथै, चारआलीमा १८ हजार ९०० किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

त्यसैगरी, भारत सरकारले नेपालको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन अनुदानमा निर्माण गरिदिने भएको छ ।

चितवनको लोथरमै ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो । यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

हाल नेपाल र भारत बीच ६९.१ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज अन्तर देशीय पेट्रोलियम पाइपलाइन संचालनमा छ ।

बाढीले साढे २ हजार बढी सवारीसाधनमा क्षति, कति पर्यो बीमा दाबी ? Read Previous

बाढीले साढे २ हजार बढी सवारीसाधनमा क्षति, कति पर्यो बीमा दाबी ?

१० हजारसम्म घट्यो मुस्ताङी च्याङग्राको भाउ Read Next

१० हजारसम्म घट्यो मुस्ताङी च्याङग्राको भाउ