नेपाल ल्याउन लागिएका १ हजार ५०० ईभी चीनतर्फै अड्किए

काठमाडौं । बाढीपहिरोले सडक संजाल ध्वस्त बनाउँदा चीनबाट नेपाल ल्याउन लागिएको विद्युतीय कारहरू रोकिएका छन् । नेपालीहरूको ठूला चाडपर्व दशैं, तिहारका लागि नेपाल ल्याउन लागिएका करिब १ हजार ५०० विद्युतीय सवारी साधन (ईभी) चिनियाँ भू-भागमै रोकिएका हुन् ।

गत साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोले सडक र पुल बगाउँदा चीनतर्फका मुख्य तातोपानी र रसुवागढी दुवै नाका बन्द हुन पुगेका छन् । रसुवागढी नाकामा चीनतर्फ नै पहिरो गएकोले गाडीहरू रोकिएका हुन् ।

केरूङ-रसुवागढी खण्डमा पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब डेढ महिना लाग्ने चिनियाँ पक्षले नेपाली अधिकारीलाई जानकारी दिएका छन् ।

यता, तातोपानी नाकामा नेपालतर्फका दुई वटा पुल बाढीले बगाएको छ । पहिरोले सडक कटान गरेको र लिपिन र लार्चामा नयाँपुल नै निर्माण गर्नुपर्ने भएकाले तत्काल तातोपानीबाट आवतजावत सम्भव छैन । यद्यपि, अहिले तातोपानी तर्फको सडक भने मर्मत कार्य सुरू भएको छ ।

कसको कति गाडी रोकिए ?

रसुवागढी नाकामा सबैभन्दा धेरै गाडी बीवाइडीको रोकिएको छ । आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार केरुङतर्फ एटो–थ्री र डल्फिन गरेर ४०० युनिटभन्दा बढी गाडी रोकिएको छ ।

‘हाम्रो गाडी आउँदै छन् । बाटो रोकियो । अहिले सम्पर्क गर्दा करिब १०/१२ दिनमा बाटो खुल्छ भन्ने जानकारी पाएको छु,’ साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले भने ।

रसुवागढी नाकाबाटै गाडी ल्याइरहेको सीजी मोटर्सको विभिन्न ब्राण्डका २०३ युनिट गाडी रोकिएको छ । कम्पनीले ल्याइरहेको अवतार ४० युनिट, एक्सपेङ २५ युनिट, नेटा एक्स ३८ युनिट, केवाइसी ५० युनिट र किङलङ ५० युनिट रोकिएको कम्पनीका सीईओ हेमन्त अग्रावालले बताए ।

त्यस्तै, जीओ अटोमोवाइलले ल्याइरहेको केई एक्सथ्री प्रो मोडल ३९ युनिट भन्सार पारी नै रोकिएको कम्पनीको भनाइ छ ।

तातोपानी नाकातर्फ सबैभन्दा धेरै गाडी एसपीजी अटोमोबाइलको रोकिएको छ । कम्पनीले नेपाल ल्याएर बिक्री गर्दै आएको ओमोडा÷जेको ब्राण्डका गाडी रोकिएका हुन् । ओमोडा ई-५ अहिले चीनतर्फ १५० युनिट र जेको जे-६ पनि १३६ युनिट रोकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सिट्रोन सी-१० पनि १०० युनिट नेपाल आइरहेको थियो । ती सबै बाटोकै कारण चीनतर्फ रोकिएका हुन् ।

यी बाहेक पनि अन्य केही कम्पनीले चीनबाट गाडी ल्याइरहेका छन् । यी सबै गरी करिब १ हजार ५०० विद्युतीय चीनतर्फनै रोकिन पुगेका हुन् ।

सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम प्रदान Read Previous

सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम प्रदान

बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण थालियो, जनकपुरबाट ल्याइयो उपकरण Read Next

बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण थालियो, जनकपुरबाट ल्याइयो उपकरण