
काठमाडौं । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभर सडक र पुलमा साढे २ अर्ब रुपैयाँ बढीको क्षति पुर्याएको छ ।
सडक विभागले उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार देशभर सडकर पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको हो । सडकमा मात्र १ अर्ब ५० करोड रुपैयाँ र पुलमा १ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ ।
भत्किएको/बगाएको सडक र पुल निर्माण गर्न लाग्ने खर्चका आधारमा उक्त रकम बराबर क्षति भएको विभागले जनाएको छ । विभागका अनुसार देशभर करिब साढे २१ किलोमिटर सकडमा क्षति पुगेको छ । उक्त सडक मर्मत गरी संचालनमा ल्याउन डेढ अर्ब लाग्ने अनुमान छ ।
त्यस्तै, देशभर ५ वटा पक्की पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । कुल ४१० मिटर लम्बाइका यी पुल मर्मत गर्न ८२ करोड रुपैयाँ हाराहारी लाग्ने विभागको अनुमान छ । बाढीले देशभरका २०० मिटर लम्बाइ बराबरका आधादर्जन बेलिब्रिजमा क्षति पुर्याएको छ । तिनको मर्मत गरी संचालनमा ल्याउन २० करोड रुपैयाँ खर्च हुने विभागको अनुमान छन् ।
सुनकोसीको बाढीले (खुर्कोट), सिन्धुरेटार, फोक्सिङ्टारका पक्की पुल बगाएको छ । अरनिको राजमार्गस्थित लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल बगाएको छ । त्यस्तै, लार्चा र हेवा खोला पुल क्षतिग्रस्त बनेका छन् ।
क्षतिको विवरण आउने क्रम जारी रहेकाले अझै बढ्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार सोमबार साँझसम्म १४ राजमार्गको ४२ स्थानमा अहिले यातायात ठप्प छ । जसमा सबैभन्दा बढी बीपी, अरनिको, कान्ति, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, कालीगण्डकी राजमार्ग प्रभावित छन् ।
बीपी र अरनिको राजमार्ग संचालन अनिश्चित
बाढीपहिरोबाट देशभरका सडक प्रभावित भएका छन् । अन्य सडकहरू क्रमशः केही दिनमा संचालनमा ल्याउन सकिने अवस्था रहे पनि बीपी र अरनिको राजमार्ग संचालन भने अनिश्चित भएको छ ।
पूर्वी नेपाल तथा तराईलाई राजधानीसँग जोड्ने प्रमुख वैकल्पिक सडक हो बीपी राजमार्ग । बाढी र पहिरोले यस सडकखण्डको आधादर्जन बढी ठाउँमा सडकै बगाएको छ । विभिन्न ठाउँमा गरेर करिब २ किलोमिटर सडकै बगाएको छ ।
सबैभन्दा धेरै धुलिखेल–नेपालथोक सडकमा सडक बगेको छ । रोशी खोलाले मात्रै झण्डै १ किलोमिटर सडक बगाएको छ । नेपालथोकको झोलुंगे पुलनजिकै करिब १०० मिटर, मंगलटारमा २०० मिटर, काभ्रेको चौकीडाँडामा करिब ५०० मिटर, थली बेसी र नार्के पुल नजिक करिब २०० मिटर सडक पूरै बगाएको छ ।
सडक बगाएको ठाउँमा नयाँ ट्रयाक खोल्नु पर्ने भएकाले बीपी राजमार्ग चाँडै संचालनमा ल्याउन सम्भव नरहेको सडक विभागले जनाएको छ । हाल बीपी राजमार्गको ११० किमी खण्डमा यातायात संचालनमा ल्याइएको छ भने नेपालथोक धुलिखेल करिब ५० किमी खण्डमा सडक पुनर्निर्माण नगरी यातायात संचालन गर्न सक्ने अवस्था छैन ।
त्यसैगरी चीनसँगको मुख्यमध्येको एक व्यापारिक नाका तातोपानी जाने अरनिको राजमार्ग समेत पूर्णरूपमा चल्ने दिन अनिश्चित छ ।
अरनिको राजकाठको लार्चा पुलसम्म यातायात सञ्चालन भए पनि त्यहाँभन्दा उता जानसक्ने अवस्था छैन । बाढीले लार्चा–लिपिन सडक खण्डका दुई वटा (लिपिन र लार्चा) बेलिब्रिज नै बगाएको छ । ती स्थानमा नयाँ बेलिब्रिज जडान नगरी यातायात संचालन गर्न सकिँदैन । यी पुल बनाउन केही समय लाग्ने भएकाले यो राजमार्ग पूर्णसुचारु हुने दिन अनिश्चित छ ।