काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट १ महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ स्थिति आयोजनाको विद्युत्गृहको स्वीचयार्डबाट सोही नगरपालिका-३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर प्रसारण लाइनमध्ये २ किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने छ ।
गत भदौ १३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, सिन्धुपाल्चोका-२का संघीय सांसद मोहनबहादुर बस्नेत, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी लगायत र आयोजना बीचमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो ।त्यसपछि प्रसारण लाइन निर्माणले गति दिएको हो ।
बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षण समेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरू गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब १ हजार ४०० मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरू गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने छ ।
विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरू हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरू भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ ।
यसका लागि २२ मेगावाटको माथिल्लो ‘चाकु ए’ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
सोही प्रसारण लाइनबाट मध्यभोटेकोशीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनीको र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १ प्रतिशत सेयर रहेको छ ।
कुल ४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकवासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निष्काशन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।