सरकारले एक महिनामै लियो १ खर्ब ऋण, ४८ अर्ब तिर्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामै झण्डै १ खर्ब रुपैयाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौमा सरकारले ९४ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएको हो ।

यससँगै मुलुकको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म देशको सार्वजनिक ऋण २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो ।

हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । भदौसम्म आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ छ ।

तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशत हो । यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ८६ हजार ७०० रुपैयाँ पुगेको छ । भदौसम्मको कुल २५ खर्ब २८ अर्ब ६२ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । यद्यपि, सार्वजनिक ऋण जनताले प्रत्यक्ष रुपमा तिर्नुपर्दैन । तर, जनताले तिरेको करबाटै उक्त दायित्व भुक्तानी गरिन्छ ।

सरकारले आर्थिक वर्षको सुरुदेखि नै आक्रमक रुपमा ऋण उठाउन थालेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र ब्याजदर समेत सस्तिएको मौका छोपी सरकारले धमाधम आन्तरिक ऋण उठाएको हो ।

दुई महिनामा तिर्यो झण्डै ४८ अर्ब

दुई महिनामा झण्डै १ खर्ब ऋण लिएको सरकारले सोही अवधिमा ४७ अर्ब ७१ करोड रुपैयाँ ऋणको साँवा ब्याज तिरेको छ । यसमध्ये अधिकांश रकम ऋणको साँवा भुक्तानी भएको हो ।

कार्यालका अनुसार सरकारले चालु आवकामा ३५ अर्ब साँवा र ७ अर्ब २ करोड ब्याज गरी कुल ४२ अर्ब २ करोड आन्तरिक ऋण तिरेको छ । त्यस्तै, ५ अर्ब ६८ करोड वैदेशिक ऋण तिरेको थियो । जसमा ४ अर्ब ६७ करोड साँवा र १ अर्ब १ करोड ब्याज तिरेको छ । सरकारले यस वर्ष ऋण तिर्न मात्रै ४ खर्ब २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

साढे ५ खर्ब ऋण उठाउने लक्ष्य

सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । जसमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक र २ खर्ब २७ अर्ब वैदेशिक रहेको छ ।

सरकारले चालु आवमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमा पहिलो त्रैमास (असोजसम्म) मात्रै १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य राखेको छ । सो अनुसार असोज महिनामा थप २० अर्ब आन्तरिक ऋण उठाउने छ ।

यस्तै, सरकराले दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड, तेस्रोमा ७३ अर्ब र चौथो त्रैमासमा ७५ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने कार्यतालिका बनाएको छ ।

 

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा Read Previous

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

प्राधिकरणको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा Read Next

प्राधिकरणको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा