भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो ।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका ३०० बढी कर्मचारी गठन आदेशबीना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट बञ्चित हुँदै आएका थिए ।ती सबैको समस्या समाधान गर्न अस्पताललाई विकास समितिमा परिवर्तन गर्ने मन्त्री पौडेलले केही अघि घोषणा गरेका थिए । उनले घोषणा गरेको एक महिनाभित्रै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको समस्या समाधान भएको हो ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्र्तगत रहने भएका छन् । यसले लामो समयदेखि रोकिएको वृत्तिविकासका कारण परेको समस्या हल हुने भएको छ ।

मन्त्रिपरिषद बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भए पछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा डा. अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।

मर्स्याङ्दी करिडोरका आयोजनाको बिजुली जोड्ने उदीपुर सबस्टेसन निर्माण सम्पन्न Read Previous

मर्स्याङ्दी करिडोरका आयोजनाको बिजुली जोड्ने उदीपुर सबस्टेसन निर्माण सम्पन्न

संचालनमा आए देशका ६३ स्थानमा सहुलियत पसल, केमा कति पाइन्छ छुट ? Read Next

संचालनमा आए देशका ६३ स्थानमा सहुलियत पसल, केमा कति पाइन्छ छुट ?