विद्युत् नपुग्दा संचालनमा आउन सकेन आइएमई ग्रुपले २ अर्बमा खोलेको कागज उद्योग

सांकेतिक तस्वीर
जलेश्वर  । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन ।
आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा २ अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभीएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए ।
विसं २०७८ देखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ १ गतेदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि मिललमा करोडौँ मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ । विद्युत् नहुँदा अहिलेसम्म उत्पादन सुरु हुन नसकेको निर्देशक भण्डारीले बताए ।
वैशाखको अन्तिममै मिलसम्म विद्युत् पुर्याइसक्नेगरी विद्युत् प्राधिकरणसँग ७५ प्रतिशत मिलको लगानी र २५ प्रतिशत विद्युत् प्राधिकरणको लगानीमा सम्झौता भएर मिलले विद्युत् जडानका लागि १ करोड ४१ लाख ५९ हजार २७० विद्युत्का ठेकेदार कम्पनी प्रिन्स कन्स्ट्रक्सनलाई बुझाइसकेको भए पनि आजसम्म मिलमा विद्युत् जडान हुन नसकेको उनले बताए ।
पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व–पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट लाइन ल्याउनुपर्नेमा ६ किलोमिटरसम्म लाइन आइसकेको तर बाँकीको ६ किलोमिटरसम्म ल्याउनमा स्थानीयले अवरोध खडा गरेपछि पेपर मिलसम्म लाइन आउन नसकेको मिलका व्यवस्थापन निर्देशक गोविन्द सर्राफले बताए ।
यस मिलमा स्टेशनदेखि लाइन ल्याउँदा गौशाला रोड, सशस्त्र क्याम्प, सुर्ती विकास चोक हुँदै इँटाटारसम्म आउनुपर्ने हो । गौशाला–१ मै रहेको रामनगर गाउँका बासिन्दाले मापदण्डबमोजिम विद्युत्का खम्बा गाड्न नदिएका कारण लाइन अहिलेसम्म आउन नसकेको बताए ।
रामनगरका स्थानीय बासिन्दाले ३३ हजार केभीएको लाइन आफ्नो गाउँबस्तीबाट लगिएमा बस्ती जोखिमका पर्ने, कति घरपरिवारको घरभित्रैसम्म खम्बा गाड्नुपर्दा उठिबास हुने, आगलागी र करेन्ट लागेर मृत्युजस्ता दुर्घटना बढ्ने, विद्युत्को विकीरणले गर्भवतीलाई असर गर्ने र अपाङ्ग बालबालिका जन्मिनेजस्ता कारण सिर्जना गर्ने भन्दै बस्तीबाट लाइन जान नदिएपछि पेपर मिल सञ्चालनमा आउन सकेको छैन ।
स्थानीय बासिन्दाले गठन गरेको सङ्घर्ष समितिका अध्यक्ष नरेश महतोको नेतृत्वमा पटक पटक स्थानीयले आन्दोलन, चक्काजामजस्ता कार्यक्रम गरेर पेपर मिलसम्म लाइन जानमा रोक लगाउँदै आएका छन् । यता अर्बौंको लगानी लगाएर पनि पेपर उत्पादन सुरु गर्न नसकेको पेपर मिलले सहमति र सहकार्यका लागि नगरपालिका, विद्युत् प्राधिकरण र स्थानीय बासिन्दासित विभिन्न प्रयास गरे पनि ठोस निर्णयमा पुग्न नसक्दा दिनदिनै लाखौँको क्षति भइरहेको जनाइएको छ ।
तनहुँमा एक वर्षमा ७७० साना उद्योग थपिए Read Previous

तनहुँमा एक वर्षमा ७७० साना उद्योग थपिए

विद्युत् उत्पादनको लक्ष्य भेट्न ४६ खर्ब लगानी चाहिने Read Next

विद्युत् उत्पादनको लक्ष्य भेट्न ४६ खर्ब लगानी चाहिने