काठमाडौं । सेयर बजारले उच्च अंकले कमब्याक गरेको छ । भदौ १९ गतेदेखि लगातार दोहोरो अंकले घटेको नेप्से आज ७८ अंकले फर्केको हो ।
अघिल्ला ६ कारोबार दिनमै २१९ अंकले घटेको नेप्सेमा आज उच्च अंकको वृद्धि भएको हो । असार १७ देखि बढ्न थालेको नेप्से डेढ महिनामै १ हजार अंकले बढेर साउन मसान्तमा ३००० हजार बिन्दुमा पुगेको थियो । भदौ लागेपछि घट्न थालेको नेप्से करिब ४०० अंकले घटेको थियो ।
सूचकसँगै कारोबार रकम पनि खुम्चिँदै गएको थियो । साउन ३१ मा झण्डै ३० अर्बको कारोबार भएकोमा बुधबार साढे ६ अर्बमा सीमित भएको थियो ।
बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा पुगेको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३१ करोड रुपैयाँले बढेर ८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, लगानी, जीवन बीमा र अन्य सूमहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै मूल्य घटेको छ ।
उच्च अंकले बढेको बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर्स, उपकार लघुवित्त इस्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
त्यस्तै, एशियन हाइड्रोपावर, सिंगटी हाइड्रो र इमर्जिङ नेपालका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।