सरकारी कर्मचारीलाई कार्यालय समयमा ‘टीएमएस’ चलाउन रोक

काठमाडौ । सरकारले कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाएको छ ।

सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त हुन थालेकाले सेवा प्रभावित भएको गुनासो आएकोभन्दै सरकारले कार्यालय समयमा सेयर कारोबार गर्ने अनलाइन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिष्टम-टीएमएस) प्रयोगमा रोक लगाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयहरूलाई पत्र लेख्दै कार्यालय समयमा टीएमसी नचलाउने व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

नागरिकलाई दिनुपर्ने सेवा प्रभावित हुनेगरी कर्मचारीहरू टीएमएसमा व्यस्त हुन लागेपछि सरकारले कार्यालय समयमा उक्त कार्य गर्न नपाउने व्यवस्था गरेको हो ।

सरकारले सरकारी कर्मचारीले टीएमएस चलाएको/नचलाएको सूचना प्रविधिको चेकजाँच गर्न समेत निर्देशन दिएको छ ।

‘…नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टीएमएस चलाएको नचलाएको सम्बन्धमा सूचना प्रविधि प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले आयोगको पत्र अनुसार गर्नु/गराउनु हुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री कार्यालयद्धारा लेखिएको पत्रमा उल्लेख छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै सरकारलाई रोक लगाउन सिफारिस गरेको थियो । अख्तियारको सुझाव अनुसार नै सरकारले कार्यालय समयमा सेयर कारोबारमा रोक लगाएको हो ।

कार्यालय समयमा कर्मचारी सेयर किनबेचमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारको टोलीले सिंहदरबार परिसर लगायत सरकारी कार्यालयको स्थलगत निरीक्षण गर्दा तथ्य फेला पारेपछि कार्यालय समयमा सेयर कारोबार रोक्न सरकारलाई पत्र लेखेको थियो ।

 

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने Read Previous

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

देशभर करिब ५ हजार किलोमिटर सडक मर्मतका क्रममा Read Next

देशभर करिब ५ हजार किलोमिटर सडक मर्मतका क्रममा