काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन दोहोरो अंकको गिरावट आएको छ । बुधबारदेखि लगातार दोहोरो अंकले घट्दै आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै ५५ अंकले घटेको हो । पछिल्ला ४ दिनमै नेप्से १८३ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा आइपुगेको छ । आज ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६९ करोडले घटेर ९ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । यो डेढ महिना यताकै कम हो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२२ कम्पनीको घटेको छ ।
घट्दो बजारमा पनि आज हाथवे इन्भेष्टमेन्टका सेयरधनीले सर्वाधिक ८.९८ प्रतिशत कमाएका छन् भने उन्नति सहकार्य लघुवित्तका सेयरधनीले ७.७८ प्रतिशत गुमाएका छन् ।