काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लकइन पिरियड एक महिना भित्र सकिने भएको छ ।
आगामी असोज २१ गते भित्र साहस ऊर्जा, सर्वोत्तम सिमेन्ट र बुद्धभूमि हाइड्रोपावरको लकइन पिरियड सकिने भएको हो ।
ती कम्पनीहरूले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीका लागि जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।
नेप्सेका अनुसार साहस ऊर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड आगामी असोज १६ गते सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, स्थानीयको ३५ लाख कित्ता र कर्मचारीको नाममा रहेको २ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड सकिने भएको हो ।
त्यस्तै, सर्वोत्तम सिमेन्टको २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन भदौ २५ गते सकिने भएको छ । कम्पनीको संस्थागत लगानी कर्ताको नाममा रहेको २४ लाख कित्ता र सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन पिरियड सकिने नेप्सेले जनाएको छ ।
त्यसैगरी, बुद्धभूमि हाइड्रोपावरको ३२ लाख १६ हजार कित्ता सेयरको लकइन पिरियड आगामी असोज २१ गते सकिने भएको छ । कम्पनीको संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको नाममा रहेको १६ हजार कित्ता सेयरको लकइन सकिने भएको हो ।
सबै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्नेछ ।