बागमती । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट १ प्रतिशतमा झरेको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधार लगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा ५.६७ प्रतिशत बिन्दुले विद्युत् चुहावट घटेको हो ।
हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा ६.६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट १ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिए ।
आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा २ लाख २९ हजार ३७९ रुपैयाँ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
यस्तै, लामो समयदेखि विद्युत् महसुल नतिर्ने २ हजार १९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा २ हजार ११७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ५ करोड ६५ लाख ८० हजार ४४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए ।
विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उनको भनाइ छ । अभियान सुरु भएपछि महसुल सङ्कलनमा सुधार भएको छ ।
आव २०८०/८१ म सो कार्यालयले रु २ अर्ब ५४ करोड ५७ लाख ५ हजार ५२३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु २ अर्ब ४२ करोड ४३ लाख ३१ हजार ३२५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिए । उक्त कार्यालयमा ७७ हजार ७६० ग्राहक छन् ।रासस