काठमाडौं । सहकारी संस्थाका बचत रकम हिनामिना बारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद १५ दिन थप भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकले समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
गत जेठ १५ गते गठन भएको समितिले जेठ २२ गतेदेखि काम थालेको थियो । सोही आधारमा समितिको ३ महिने म्याद भदौ २२ गते सकिँदै छ । तर, तोकिएकै समयमा प्रतिवेदन तयार पार्ने काम नसकिने भएकाले १५ दिन म्याद थपिएको हो ।
अध्ययनको चरण सकिए पनि प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय माग गरिएको सभापति थापाले बताए ।
थपिएको म्याद अनुसार अब समितिले असोज ६ गते भित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।