काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दिएको निर्देशनपछि सेयर लगानीकर्तामा निराशा छाएको भन्दै अर्थ समितिमा उजुरी परेको छ ।
नेपाल धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकारमा पर्ने र लेखाको निर्देशन अव्यवहारिक रहेकाले सच्याउनुपर्ने भन्दै अर्थ समितिमा उजुरी परेको हो ।
लेखा समितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आइपीओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो । लेखा समितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।
‘लेखा समितिले धितोपत्र बोर्डलाई २०८० पुस १२ गते रु ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आइपीओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पूँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ,’ समिति सभापति चालिसेले भने ।
लेखाको निर्देशन विरुद्ध अर्थ समितिमा कसले उजुरी हाल्यो भन्ने भने खुलाइएको छैन । धितोपत्र बोर्ड नेतृत्वबिहीन हुँदा पाइपलाइनमा रहेको कम्पनीहरुले विगत ९ महिनादेखि आइपीओ अनुमति पाएका छैनन् । बोर्डमा हाल साढे २ दर्जन बढी कम्पनीले आइपीओ अनुमति माग्दै आवेदन दिएका छन् ।
पछिल्लो समय अधिकांश कम्पनीले ‘प्रिमियम’ मूल्यमा आइपीओ जारी गर्ने गरेका छन् । प्रिमियममा आइपीओ जारी गर्न दिँदा बोर्डको तजविजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखा समितिको निर्देशनमा उल्लेख छ ।
‘धितोपत्र बोर्डले नियम संशोधन गरी कम्पनीको पुनःमूल्याङ्कन गरी मूल्य बढाएर आइपीओ जारी गर्ने प्रयोजनका लागि नेटवर्थमा गणना गर्न पाउने बनाएपश्चात् ‘लिक्विडेसन’मा जान लागेको कम्पनीले पनि आफुखुसी मूल्याङ्कन बढाएर आइपीओ जारी गर्न थालेको देखिन्छ,’ लेखासमितिको उक्त निर्देशनमा भनिएको छ, ‘लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न र पुनःमूल्याङ्कन नगरी नेटवर्थ रू. ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै आइपिओ जारी गर्न दिनेगरी कार्यसम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देश गर्दछ ।’
अन्यथा घाटामा गएका कम्पनीले पुनःमूल्याङ्कन गरी मूल्य बढाएर सेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्यधिक जोखिममा पर्नसक्ने भएकाले त्यस्तो अवस्था आउन नदिने यो निर्देशन दिइएको लेखा समितिको भनाइ छ ।
लेखासमितिको उक्त निर्देशन विरुद्ध अर्थ समितिमा परेको उजुरीमा ९० रुपैयाँ प्रतिसेयर नेटवर्थ कायम नहुने कम्पनीलाई आइपीओ निष्कासनका लागि रोक लगाउँदा यसबाट पूँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था नरहने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्न जाने उल्लेख छ ।
त्यस्तै, बाढीपहिरोबाट प्रभावित जलविद्युत् आयोजनाको पुनःनिर्माण गर्न ५० प्रतिशत ‘प्रमोटर’ सेयरमा ‘लकइन’ अवधिको व्यवस्था हटाउन यसअघि भएका निर्णयको कार्यान्वयनका लागि समितिमार्फत् निर्देशनको माग उजुरीकर्ताले गरेका छन् ।