वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा रु १ अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार १५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए ।
कार्यालयले आव २०७९/८० मा भने रु १अर्ब ३५ करोड ३१ लाख ७४ हजार ८६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ रु १ अर्ब १९ करोड ४८ लाख १४ हजार ८०० राजस्व सङ्कलन भएको थियो ।
सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल २ हजार २२९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने ६४५ वटा दर्ता भएका छन् ।
गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार ९७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने ४१३ वटा दर्ता भएका छन् । गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार ४५६ वटा दर्ता भएका छन् ।