काठमाडौं । सरकारले निर्माण सुस्त रहेको मुग्लिन-पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्ड (जामुने-पोखरा) सडकखण्डको म्याद थप गरेको छ ।
३८.८८ किलोमिटर लामो यस खण्डको तोकिएको समयमा काम सम्पन्न नभएपछि सरकारले १०१ दिन म्याद थप गरेको हो । ठेक्का सम्झौता अनुसार यही भदौ १२ गते उक्त सडकको काम सम्पन्न हुनुपर्दथ्यो । तर, यस समयमा एकतिहाई पनि काम पूरा हुन नसकेपछि सरकारले फेरि म्याद थप गरिदिएको हो ।
यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनीयर नारायण पौडेलले जानकारी दिए । यस सडकको अझै ७२ प्रतिशत काम बाँकी रहेको छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो ।
यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यसको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ ।
पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । सो खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा ०.५ किलोमिटर सडक चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याक कटिङ’ सम्पन्न भएको छ ।
पौडेलका अनुसार त्यस अवधिमा १३ पुल निर्माण गर्ने लक्ष्य रहेकामा ५ वटाको काम सकिएको छ । ८ वटा पुलको संरचना निर्माण सम्पन्न भइसकेको छ ।
आर्थिक वर्ष २०८०र८१ मा योजना कार्यालयको पहलमा निर्माण कम्पनी, सरोकारवाला निकायहरूको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति ९ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ ।
उनले भने, ‘नेपालकै अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नतिमा सुरूआतदेखि नै केही समस्या देखिएको थियो । काम सुरू भएपछि पोखरामा निर्माण भएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गरी जामुनुदेखि सेती पुल खण्डको डिजाइन परिवर्तन गरिएको थियो ।’

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरू स्थानान्तरणका लागि सम्झौता भइ सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको पौडेलको भनाइ छ ।
त्यस्तै, योजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत २ हजार ३१ पोलमध्ये १ हजार २३६ विद्युत् पोल स्थानान्तरण भइसकेको छ ।
पूर्वीखण्ड (आँबुखैरेनी-जामुने)को कामले भने गति लिएको छ । हालसम्म यसखण्डको दुईतिहाई अर्थात् ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४१.७ किलोमिटर लम्बाइको यस खण्डको एकतर्फी रूपमा ६५ किलोमिटर दुई लेन सडक कालोपत्र भइसकेको छ ।
अन्य ठाउँमा कालोपत्र गर्ने कामले गति लिए पनि दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन । यसखण्ड न्तर्गत १४ वटा साना पुल, दुई ठूला पुल र १०३ कल्भर्ट निर्माणको काम सकिएका छन् ।
यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः १५५ दिन थप गरिएको छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूवीखण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
वि.सं. २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।