क्यूआर कोडसहितको लाइसेन्स जारी गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले क्यूआर कोडसहितको चालक अनुमपतिपत्र (लाइसेन्स) जारी गर्ने तयारी गरेको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले क्यूआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र ५ लाख लाइसेन्स बनिसकेको बताए ।

मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के-के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे ।

उनले नारायणगढ-बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए।

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । ‘सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ,’ उनले भने ।

मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने, ‘सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।’

उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे । मन्त्री दाहालले भने, ‘बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्रगतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्नछ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।’

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बरले बढ्याे Read Previous

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बरले बढ्याे

सेयर बजारमा फर्कियो रौनक, शतकको छलाङ हान्दा नेप्से २८०० माथि उक्लियो Read Next

सेयर बजारमा फर्कियो रौनक, शतकको छलाङ हान्दा नेप्से २८०० माथि उक्लियो