काठमाडौं । विश्व सेयर बजारमा वास्तविक क्षेत्र (रियल सेक्टर)क्षेत्रका कम्पनीलाई सेयर बजारको खम्बाको रूपमा लिइन्छ । तर, नेपालमा भने नगन्य मात्र सूचीकृत छ । हाल नेप्सेमा सूचीकृत २७० कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनी मात्रै रियल सेक्टरका छन् । त्यसमा पनि उत्पादनमूलक क्षेत्रका कम्पनी ८ वटा मात्रै कारोबारमा छन् ।
सेयर बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयरमा उच्च आकर्षण देखिन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीको सेयर संख्या तुलानात्मक रूपमा कम हुने र वर्षेनी लाभांश दिने भएकाले लगानीकर्ता आकर्षित हुने गरेका छन् । यद्यपि, सबै उत्पादनमूक कम्पनीले लाभांश दिन्छन् नै भन्ने चाहिँ छैन ।
पछिल्लो समय सेयर बजारमा सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । नेप्सेमा हाल ४ वटा सिमेन्ट कम्पनी शिवम्, सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट सूचीकृत छन् ।
शिवम् ५ वर्ष अघि सूचीकृत भएको हो भने सर्वोत्तम, घोराही र सोनापुर गत वर्ष मात्र सेयर बजारमा आएका हुन् । विगतमा शिवम् सिमेन्ट सेयर बजारको ‘हटकेक स्क्रिप्ट’ समेत बनेको थियो । यसको प्रतिकित्ता मूल्य २ हजार रुपैयाँ हाराहारी पुगेको थियो । कारोबारमा आउने बित्तिकै अन्य सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको थियो ।
सिमेन्ट कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार चार वटै सिमेन्टको नाफामा गिरावट आएको छ । जसमा शिवम् र सर्वोत्तम नाफमा छन् भने घोराही र सोनापुर घाटामा छन् ।
सेयर लगानीकर्ताको रोजाइमा रहेका चारै सिमेन्ट कम्पनीको गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका आधारमा कुन अब्बल भनेर यहाँ तुलनात्मक समीक्षा गरेका छौं ।
चुक्ता पूँजी : चुक्ता पूँजीका आधारमा शिवम सबैभन्दा ठूलो रहेको छ । हाल शिवको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । सर्वोत्तमको ४ अर्ब ६५ करोड र घोराहीको ४ अर्ब ५६ करोड रुपैयाँ छ । सोनापुरको सबैभन्दा कम ३ अर्ब ७ करोड रुपैयाँ छ ।
रिटेन्ड अर्निङ तथा जगेडा कोष : जगेडा कोष (सेयर प्रिमियमसहित)का आधारमा घोराही बलियो रहेको छ । यसको रिटेन्ड अर्निङ तथा जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा धेरै अर्थात् ४ अर्ब ९२ करोड रुपैयाँ छ । सर्वोत्तमको जगेडा कोषमा ४ अर्ब ५८ करोड रुपैयाँ संचित छ ।
त्यस्तै, शिवम् सिमेन्टको सेयर प्रिमियमा ९५ करोड ६२ लाख र अन्य जगेडा कोषमा ३ अर्ब ५१ करोड गरी कुल रिजर्भमा ४ अर्ब ४७ करोड रुपैयाँ संचित । जगेडा कोषका आधारमा सोनापुर भने निकै कमजोर देखिएको छ । सोनापुरको सेयर प्रिमियम र जगेडा कोषमा गरी कुल १ अर्ब ९२ करोड रुपैयाँ मात्रै संचित छ ।
संचालन आम्दानी : संचालन आम्दानीमा पनि शिवम् अगाडि रहेको छ । गत वर्ष शिवमको संचालन आम्दानी ७ अर्ब ७० करोड रुपैयाँ छ । सोही अवधिमा यस्तो आम्दानी सर्वोत्तमको ६ अर्ब ३७ करोड, घोराही ४ अर्ब ४७ करोड र सोनापुरको १ अर्ब ६३ करोड रुपैयाँ छ ।
ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको शिवम्ले ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका घोराही, सर्वोत्तम र सोनापुरलाई व्यापारमा निकै पछि पारेको छ ।
अन्य आम्दानी : गत वर्षको तुलनामा अन्य आम्दानी चारै कम्पनीको घटेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण यी कम्पनीको लगानी रहेका अन्य कम्पनीबाट प्राप्त हुने लाभांश घट्दा अन्य आम्दानी घटेको हो । समीक्षा अवधिमा अन्य आम्दानी पनि शिवम्कै धेरै छ । गत वर्ष शिवम्ले १९ करोड ८५ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ भने सर्वोत्तमले ४ करोड ३५ लाख, घोराहीले २ करोड ४५ लाख र सोनापुरको ६२ लाख छ ।
खुद नाफा : गत वर्ष शिवम् र सवोत्तम सिमेन्टले मात्रै नाफा कमाएका छन् भने घोराही र सोनापुर घाटामा छन् । असारसम्म शिवम्ले सबैभन्दा धेरै २५ करोड २ लाख रुपैयाँ र सर्वोत्तमले १७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यही अवधिमा घोराही सिमेन्ट १ अर्ब २१ करोड र सोनापुर ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छन् । शिवम र सर्वोत्तमको तुलनामा घोराही र सोनापुरको व्यापार कम र खर्च धेरै हुँदा दुवै घाटामा गएका हुन् ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले चासोमा साथ हेर्ने प्रतिसेयर आम्दानीमा पनि शिवम् नै अघि रहेको छ । समीक्षा अवधिमा शिवम्को प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । त्यस्तै, सर्वोत्तमको ३.७५ रुपैयाँ भने सोनापुर र घोराही क्रमशः १५.२६ रुपैयाँ र २६.६८ रुपैयाँ ऋणात्मक छ ।
नेटवर्थ प्रतिसेयर : नेटवर्थमा भने घोराही अघि रहेको छ । समीक्षा अवधिमा घोराहीको नेटवर्थ २०७.९३ रुपैयाँ छ । सर्वोत्तमको १९८.८३ रुपैयाँ, शिवम्को १८९.०२ रुपैयाँ र सोनापुरको १६३.२४ रुपैयाँ छ ।
ऋण : समीक्षा अवधिमा सबैभन्दा धेरै ऋण घोराहीको रहेको छ । यस अवधिमा घोराहीको दीर्घकालीन ६ अर्ब ७३ करोड र अल्पकालीन ३ अर्ब ३० करोड गरी कुल १० अर्ब ४ करोड रुपैयाँ ऋण रहको छ ।
त्यस्तै, सोनापुरको ३ अर्ब ५९ करोड दीर्घकालीन र २ अर्ब ५ करोड अल्पकालीन गरी कुल ५ अर्ब ६५ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । अन्यको तुलनामा शिवम्को भने ऋण थोरै छ । शिवम् तिर्न बाँकी दीर्घकालीन ऋण ६ करोड ९२ लाख रुपैयाँ छ । सर्वोत्तमको पनि सोनापुर र घोराहीको तुलनामा ऋण निकै कम छ । असारसम्म सर्वोत्तमको तिर्न बाँकी ऋण ३ अर्ब ६५ करोड रुपैयाँ छ ।
निष्कर्ष : वासलतका अधिकांश सूचकमा आधारमा शिवम् शिमेन्ट बलियो देखिएको छ भने सर्वोत्तमले शिवम्लाई पछ्याइरहेको छ । सोनापुर र घोराहीले तिर्नुपर्ने ऋण धेरै रहेकाले आगामी दिनमा पनि दायित्व बढ्ने हुँदा नाफा प्रभावित हुने देखिन्छ । शिवम् र सर्वोत्तमको ऋण कम भएकाले वित्तीय दायित्व कम छ ।
शिवम्ले आइपीओ जारी गरेदेखि वर्षेनी लाभांश दिँदै आएको छ । सर्वोत्तम र घोराहीले गत वर्ष १५र१५ प्रतिशत लाभांश दिए भने सोनापुरले सेयरधनीको हात रित्तै बनायो । आगामी वर्ष सर्वोत्तम, र शिवम्ले मात्रै लाभांश बाँड्न सक्ने देखिन्छ । घोराहीको रिटेन्ड अर्निङमा पैसा भए पनि ठूलो नोक्सानीमा रहेकाले लाभांश नबाँड्न सक्छ ।
दोस्रो बजारमा कारोबारका लागि शिवम्को तुलनामा सर्वोत्तम, घोराही र सोनापुरको सेयर आपूर्ति कम छ । शिवम्को प्रमोटरको सेयर लकिङ खुलिसकेकाले सूचीकृत सबै सेयर कारोबार योग्य छ । घोराही, सर्वोत्तम र सोनापुरको संस्थापक सेयर अझै २ वर्ष लकिङमै रहन्छ । सेयर संख्या कम भएकाले शिवम्को तुलनामा अरू सिमेन्टको सेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ ।
आधारभूत वित्तीय सूचकमा शिवम् र सर्वोत्तम बलियो देखिन्छन् । तर, नेपाली सेयर बजारका कम्पनीहरू वित्तीय सूचकका आधारमा भन्दा पनि हल्ला र चलखेलका आधारमा मूल्य बढ्ने गरेका दृष्टान्त छन् । यस्तोमा लगानीकर्ताले वित्तीय अवस्था बलियो रहेको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडकोपछि लागेर कमजोर कम्पनीमा जोखिम मोल्ने भन्ने आफैंले विचार गर्नुपर्छ ।