१४ महिनादेखि रोकिएको मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा जुट्यो सहमति

सांकेतिक तस्वीर

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भइरहेको आयोजनको प्रसारण लाइन बनाउन सरोकारवाला निकाय र स्थानीय सहमतिमा पुगेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजना बीच बुधबार भएको छलफलमा सहमति जुटेको छ ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर प्रसारण लाइनमध्ये २ किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।

बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरू गर्ने सहमति जुटेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्त्वपूर्ण सहमति भएको बताए। मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए ।

सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गरे। घिसिङले आयोजनाको विद्युत प्रवाहका लागि २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको बताए ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेका छन् ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको ‘माथिल्लो चाकु ए ‘जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ ।

मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्दै Read Previous

एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्दै

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा Read Next

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा