काठमाडौं । हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १७१ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीको पुस १ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत वोनस शेयर गरी कूल १०२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तै संचित मुनाफाबाट शेयरधनीहरुलाई अन्तरिम लाभांशको ६८.४२ प्रतिशत गरी कूल १७१.०५ प्रतिशत लाभांश पारित गरेको छ ।
१९ वर्ष अगाडि स्थापना भएको कम्पनीले नेपालमा वार्षिक १० लाख कार्टुनभन्दा मदिरा बिक्री गर्दछ । यस कम्पनीमा प्रत्यक्ष रुपमा ३०० भन्दा बढीलाई रोजगारी पाइरहेका छन् । कारखानामा उर्जासह-उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली समेत जडान गरिएको छ ।
हिमालयनले आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ४४ करोड ११ लाख संचालन अआम्दानी गरेको थियो ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।
हिमालयनले गत वर्ष कूल ५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८२.६५ प्रतिशतले बढी हो । विगत ५वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ ।
हिमालयन डिष्टिलरी सरकारलाई उच्चतम् राजश्व तिर्ने कम्पनीमध्ये एक हो । यसले गत वर्ष अन्तः शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, भन्सार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख राजश्व तिरेको थियो ।