नेप्सेमा सूचीकृत ५६ प्रतिशत हाइड्रो घाटामा, यी ३९ वटा मात्रै नाफामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हाइड्रोपावर कम्पनी मध्ये आधा बढी नोक्सानीमा रहेका छ ।

सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये हालसम्म ८८ वटा (हिमाल दोलखा, रिभर फल्स पावर र अपर लोहोरे बाहेक)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये ५६ प्रतिशत अर्थात् ४९ वटा हाइड्रोपवार कम्पनी घाटामा रहेका हुन् ।

गत आवमा ८८ हाइड्रोपावर समग्रमा ३ अर्ब २७ करोड रुपैयाँ घाटामा छन् । यद्यपि, अघिल्लो आव २०७९/८० को तुलनामा हाइड्रोपावरको नोक्सानी केही घटेको छ । सो आवमा हाइड्रोपावरको कुल नोक्सानी ३ अर्ब ७७ करोड रुपैयाँ घाटामा थिए ।

घाटामा रहेका धेरै जसो हाइड्रोपावर निर्माणाधीन अवस्थामै रहेका छन् । निर्माणकै चरणमा रहेकाले विद्युत् बिक्रीबाट आम्दानी नहुँदा घाटामा गएका हुन् ।

त्यसैगरी, विद्युत् उत्पादन थालिसकेका हाइड्रोपावर समेत घाटामा गएका छन् । यी हाइड्रोले बिजुली बिक्रीबाट आम्दानी गर्ने भए पनि आयोजना निर्माण गर्न लिएको ऋणको ब्याज खर्च धेरै हुँदा घाटामा गएका हुन् ।

विगतमा नाफामा रहेका केही हाइड्रो समेत बाढिपहिरोका कारण लामो समयसम्म बन्द हुँदा घाटामा गएका छन् । समीक्षा अवधिमा अधिकांश हाइड्रोको विद्युत् बिक्री आम्दानी बढे पनि खर्च नियन्त्रण गर्न नसक्दा नाफा प्रभावित भएको हो ।

गत वर्ष अर्थतन्त्रमा आएको शिथिलताका बाबजूद बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्तहरूको नाफा बढेको थियो । तर, हाइड्रोपावरको नाफामा भने उल्लेख्य सुधार आउन नसकेको देखिएको छ ।

चिलिमे बन्यो धेरै नाफा कमाउने

गत वर्ष ३९ वटा हाइड्रोपावर नाफामा रहेका छन् । जम्मा १० हाइड्रोपावरले मात्रै १० करोड बढी नाफा कमाएका छन् । तीमध्ये चिलिमे हाइड्रोपवारले सबैभन्दा धेरै ६५ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा चिलिमेको नाफा ०.५८ प्रतिशतले मात्र बढेको छ ।

गत वर्ष अपि पावरले ४५ करोड ६५ लाख, साहस ऊर्जाले ४१ करोड ६० लाख, सानिमा माइ हाइड्रोपावर ३६ करोड ४१ लाख, माण्डु हाइड्रोपावर २६ करोड ९० लाख, माउन्टेन इनर्जी २० करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, बुटवल पावर १७ करोड ६४ लाख, भिजल लुम्बिनी ऊर्जा १६ करोड २३ लाख, ग्रीन भेन्चर्स १५ करोड ७ लाख, सुपर मादी १० करोड ७७ लाख, राधि विद्युत् ९ करोड २७ लाख, कालिका पावरले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

अपर तामाकोशी नोक्सानी सबैभन्दा धेरै

समीक्षा अवधिमा देशकै सबैभन्दा ठूलो अपर तामाकोशी हाइड्रोपावरको घाटा सबैभन्दा धेरै हो । गत वर्ष बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि तामाकोशी २ अर्ब ६८ करोड घाटामा छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा तामाकोशीको नोक्सानी घटेको छ । अघिल्लो वर्ष तामाकोशी ४ अर्ब ९ करोड घाटामा थियो ।

त्यस्तै, गत वर्ष त्रिशूली जलविद्युत् ४२ करोड ५० लाख, बलेफी हाइड्रोपावर ४१ करोड ९७ लाख, शिवश्री हाइड्रोपवार ३५ करोड ८८ लाख, माया खोला हाइड्रोपावर ३१ करोड ६२ लाख, मोदी इनर्जी ३० करोड ९८ लाख, अरुण काबेली ३० करोड १८ लाख, हिमालयन पावर २६ करोड २३ लाख रुपैयाँ घाटामा छन् ।

मुस्ताङमा स्याउ टिप्ने समय तालिका बनाइयो, बजारको समस्या नहुने Read Previous

मुस्ताङमा स्याउ टिप्ने समय तालिका बनाइयो, बजारको समस्या नहुने

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन ! Read Next

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !