३० बढी हाइड्रोपावरको आइपीओ रोकियो, आयोजना समस्यामा

सांकेतिक तस्वीर ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अध्यक्ष गणेश कार्कीले ३० बढी जलविद्युत् आयोजनाले आइपीओ स्वीकृति नपाउँदा समस्या भएको बताएका छन् ।

इप्पान र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आयोजित ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले आइपीओ अनुमतिका लागि लामो समयदेखि धितोपत्र बोर्डमा आवेदन दिए पनि अनुमति पाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘३० भन्दा बढी आयोजनाहरु को आइपीओ सेबोनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आइपीओबाट पनि आउन सकेन र इक्विटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन।’

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पूँजी बजारमा करिब ४५ लाख बढी नेपालीहरुले जलविद्युतको सेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।

उनले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको बताएका छन् ।

‘बैंकसँग जलविद्युत्मा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौँ,’ उनले भने, ‘त्यसविदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।’

विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशतमा हुने काममा २८ प्रतिशत भन्सार पुर्याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट रु ५० लाख भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्दै अध्यक्ष कार्कीले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकले बर्सेनि रु ४०/५० अर्ब मात्रै ऊर्जामा लगानी गर्नसक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताए। उनले विदेशी लगानीमा ऊर्जाको दिगो विकास गर्न सकिने र त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासनमा जोड दिनुपर्ने बताए।

हाइड्रोपावर निर्माणमा वन बाधक बनेपछि तात्यो ऊर्जा मन्त्रालय Read Previous

हाइड्रोपावर निर्माणमा वन बाधक बनेपछि तात्यो ऊर्जा मन्त्रालय

नुवाकोटमा ठूलो ढुंगासहितको पहिरो, गल्छी-रसुवागढी सडक बन्द Read Next

नुवाकोटमा ठूलो ढुंगासहितको पहिरो, गल्छी-रसुवागढी सडक बन्द