ठूला लगानीकर्ता धमाधम बैंकबाट सेयर कर्जा लिँदै, करोड बढी लिने २५% बढे

काठमाडौं । पछिल्लो समय सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धमाधम सेयर किन्न थालेका छन् । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको लचकता, घट्दो ब्याजदरसँगै नेप्सेले पनि लय समात्दै जाँदा लगानीकर्ता ऋण लिएर सेयर किन्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १३ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ ऋण लिएका छन् ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा २०८१ असार मसान्त आइपुग्दा बढेर ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आवमा मार्जिन प्रकृतिको कर्जा १८.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्ला दुई वर्षमा झन्डै ३० अर्ब रुपैयाँले घटेको सेयर धितो कर्जा गत वर्ष झण्डै १४ अर्ब रुपैयाँले बढेको छ । पछिल्लो एक महिना (असारमा) मात्रै बैंकहरूले २ अर्ब ९८ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

गत आवमा साउनमा १० करोड ५०, भदौमा १ अर्ब २७ करोड, असोजमा ३ अर्ब ३३ करोड, कात्तिकमा १४ करोड, मंसिरमा ३ करोड, पुसमा ३ अर्ब १० करोड, माघमा ८८ करोड ६० लाख, फागुनमा ५३ करोड, चैतमा ४८ करोड र जेठमा १ अर्ब १६ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ । वैशाखमा भने सेयर कर्जा २३ करोड रुपैयाँले घटेको थियो ।

करोड बढी ऋण लिने २५ प्रतिशतले बढे

गत आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा ठूलो रकमको ऋण ह्वात्तै बढेको छ । एक वर्षको अवधिमा १ करोड बढीको ऋण २५.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा आइपुग्दा बढेर ५५ अर्ब ९३ करोड पुगेको छ । समीक्षा अवधिमा १ करोड माथिको सेयर कर्जा ११ अर्ब २१ करोड रुपैयाँले बढेको हो ।

त्यस्तै, गत वर्ष ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ५.५ प्रतिशत अर्थात् ६५ करोड रुपैयाँले बढेको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने १२.८ प्रतिशतले बढेको छ । २०८० असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा २०८१ असार आइपुग्दा १ अर्ब ६४ करोडले बढेर १४ अर्ब ४२ करोड पुगेको छ ।

२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा ३.९ प्रतिशत अर्थात् २७ करोड ६४ लाख रुपैयाँले बढेको छ । गत वर्ष २५ लाख मुनिको सेयर धितो कर्जा ७ अर्ब ३२ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकको लचकताले बढ्दै सेयर कर्जा

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकताका कारण सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । साथै, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

राष्ट्र बैंकले गत आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, चालु आवको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तातर्फको २० करोडको सीमा खारेज गरिदिएको छ । यसको प्रभावले साउनमा सेयर धितो कर्जा ह्वात्तै बढ्ने देखिन्छ ।

त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । अहिले बैंकहरूसँग ७ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत कममै ऋण पाउने अवस्था छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यिनै कारणले आगामी दिनमा सेयर बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ

परराष्ट्रमन्त्री डा. राणा र भारतीय प्रधानमन्त्री मोदी बीच भेट, के-के भयो कुराकानी ? Read Previous

परराष्ट्रमन्त्री डा. राणा र भारतीय प्रधानमन्त्री मोदी बीच भेट, के-के भयो कुराकानी ?

अमेरिकाले नेपाललाई दुई वटा 'एम २८ स्काइट्रक' दिने Read Next

अमेरिकाले नेपाललाई दुई वटा 'एम २८ स्काइट्रक' दिने