
काठमाडौं । विगतमा ‘ब्लुचिप’ रहेका स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक नेपाल राष्ट्र बैंकले पूँजी वृद्धिको भारी बोकाएपछि खस्किएका थिए । तर, पछिल्लो २/३ वर्षदेखि यी बैंकले फेरि आफूलाई क्रमशः पुरानै लयमा फर्काए.उन थालेका छन् ।
अर्थात् आफूलाई पूँजी वृद्धि अघिकै जस्तो बलियो र अब्बल बनाउँदै लगेका छन् । तुलनात्मक रूपमा पूँजी आकारमा साना भए पनि यी बैंकको प्रगति लोभलाग्दो छ । थोरै पूँजीमा पनि राम्रो व्यवसायिक ‘ग्रोथ’ गरेका छन् । पूँजी आकारमा आफूभन्दा दोब्बर ठूला बैंकसँग प्रतिस्पर्धा गरिहरेका छन् ।
प्रतिकूल अवस्थामा पनि यी बैंकले लगानीकर्तालाई निरन्तर प्रतिफल दिँदै आएका छन् । पूँजी वृद्धि अघि बम्पर लाभांश दिँदै आएका यी बैंकहरूले पूँजी वृद्धिपछि भने लाभांशदर ह्वात्तै घटेको थियो । तर, अहिले यी दुवै बैंक सर्वाधिक लाभांश दिने बैंकमा पर्छन् । असारसम्म वाणिज्य बैंकमध्ये यी बैंकको लाभांश क्षमता सबैभन्दा धेरै छ ।
गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा यी दुई बैंक अन्य बैंकभन्दा निकै बलिया देखिएका छन् । खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोष, नेटवर्थ लगायत सूचकमा अरू बैंकभन्दा अब्बल छन् ।
सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्न सफल यी दुई बैंक बीच गत वर्षको चौथो त्रैमासको वित्तीय विवरणका आधारमा यहाँ तुलना गरेका छौं ।
चुक्ता पूँजी : तुलनात्मक रूपमा एभरेष्ट र चार्टर्ड दुवै कम पूँजी हुने बैंकमा पर्दछन् । २० वटा वाणिज्य बैंकमध्ये चार्टर्ड सबैभन्दा कम चुक्ता पूँजी हुने बैंक हो भने एभरेष्ट चौथो थोरै पूँजी भएको बैंक हो ।
यी दुई मध्ये चुक्ता पूँजीका आधारमा एभरेष्ट बैंक अगाडि रहेको छ । असार मसान्तसम्म एभरेष्टको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ भने चार्टर्डको ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ । चार्टर्ड १० अर्बभन्दा कम चुक्ता पूँजी हुने एक मात्र वाणिज्य बैंक समेत हो ।
जगेडा कोष : जगेडा कोषका आधारमा दुवै बैंक बलियो स्थितिमा छन् । दुवैको कुल जगेडा कोषको आकार चुक्ताकै हाराहारी छ । यी दुई मध्ये चाहिँ एभरेष्ट बलियो छ । एभरेष्टको रिजर्भ एण्ड सरप्लसमा कुल १६ अर्ब १ करोड रुपैयाँ संचित छ । जसमा जगेडा कोषमा १२ अर्ब २५ करोड, सेयर प्रिमियम कोषमा २३ करोड ६४ लाख र रिटेन्ड अर्निङमा ३ अर्ब ५१ करोड रुपैयाँ छ ।
त्यस्तै, चार्टर्डको कुल जगेडा कोषको आकार ११ अर्ब १३ करोड रुपैयाँको छ । जसमा जगेडा कोषमा ८ अर्ब ६३ करोड र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड रुपैयाँ संचित छ ।
खुद नाफा : खुद नाफा एभरेष्ट बैंकको धेरै छ । गत वर्षको असार मसान्तसम्म एभरेष्टले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिमा चार्टर्डले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एभरेष्टले चार्टर्डकोभन्दा ४० करोड रुपैयाँ धेरै नाफा कमाएको छ । गत वर्ष एभरेष्टको नाफा १० प्रतिशतले बढेको छ भने चार्टर्डको साढे ४ प्रतिशतले घटेको छ ।
निक्षेप र कर्जा लगानी : व्यवसायमा एभरेष्ट चार्टर्डभन्दा निकै अगाडि रहेको छ । असारसम्म एभरेष्ट बैंकले कुल २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो चार्टर्डकोभन्दा १ खर्ब २० अर्ब रुपैयाँ बढी हो । सोही अवधिमा चार्टर्डको कुल निक्षेप १ खर्ब १२ अर्ब रुपैयाँ मात्र छ ।
कर्जा लगानीमा पनि एभरेष्ट निकै अगाडि छ । समीक्षा अवधिमा एभरेष्टले १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने चार्टर्डले ८१ अर्ब १४ करोड ऋण लगानी गरेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा कम हो ।
वितरण योग्य नाफा : समीक्षा अवधिमा सेयरधनीललाई दिन सक्ने लाभांश क्षमता एभरेष्टको धेरै छ । असारसम्म एभरेष्टको वितरण योग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ । जसबाट २९.८६ प्रतिशत लाभांश दिनसक्छ । त्यस्तै, यस अवधिमा चार्टर्डको वितरण योग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ छ । जसबाट २६.५० प्रतिशत लाभांश बाँड्न सक्छ । गत वर्षको नाफाबाट आधा दर्जन बढी बैंकले लाभांश बाँड्न नसक्ने अवस्था छ । तर, यी बैंक भने तुलनात्मक रूपमा बलिया देखिएका छन् ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले प्राथमिकताका साथ हेर्ने प्रतिसेयर आम्दानीमा चार्टर्ड अघि रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ रहेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ छ । एभरेष्ट दोस्रो धेरै ईपीएस हुने बैंक हो ।
प्रतिसेयर नेटवर्थ : प्रतिसेयर नेटवर्थमा एभरेष्ट अगाडि छ । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर नेटवर्थ २३६.०६ रुपैयाँ छ भने चार्टर्डको २१८.०४ रुपैयाँ छ ।
बेसरेट : आधारदर चार्टर्डको सस्तो रहेको छ । एभरेष्टले भन्दा चार्टर्डले सस्तोमा ऋण दिन सक्छ । समीक्षा अवधिमा चार्डको बेसरेट सबैभन्दा कम ६.६० प्रतिशत छ । एभरेष्टको ७.२९ प्रतिशत छ ।
खराब कर्जा : ऋण असुलीमा एभरेष्ट बैंक अब्बल देखिएको छ । समीक्षा अवधिमा एभरेष्टको खराब कर्जा ०.७१ प्रतिशत मात्र छ । यो २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम हो । एभरेष्टको तुलनामा चार्टर्डको खराब कर्जा तेब्बर छ । असारसम्म चार्टर्डको खराब कर्जा २.१४ प्रतिशत छ ।
ठूला पूँजी भएका बैंकका तुलनामा यी बैंकको प्रगति सन्तोषजनक छ । सेयर संख्या एभरेष्टकोभन्दा चार्टर्डको कम भए पनि अन्य सूचकमा एभरेष्ट अघि छ । चुक्ता पूँजी, निक्षेप, कर्जा, रिजर्भ कोष लगायत सूचकमा एभरेष्ट अघि छ भने कष्ट अफ फण्ड, बेसरेट, सीडी रेसियो लगायत सूचकमा चार्टर्ड अघि छ ।
पछिल्लो समयको वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ता आकर्षण बढ्दै गएको छ । सेयर मूल्यका आधारमा यी दुई बैंक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हुन् । १९ बैंक मध्ये यी दुईको मात्र सेयर मूल्य ७०० रुपैयाँ माथि छ । चार्टर्डको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७२०.७० रुपैयाँ र एभरेष्टको २२७ रुपैयाँ छ ।
तुलनात्मक रूपमा दुवै बैंक बलिया र लगानीकर्ताको आकर्षण रहेकाले सेयर बजारमा कसले लिड गर्ला यसै भन्न सक्ने अवस्था छैन । त्यो भने भविष्यले नै देखाउने छ ।