बैंक चम्किँदा नेप्सले एकैदिन बनायो ३ नयाँ रेकर्ड, परिसूचक ३००० बिन्दुमा पुग्यो

काठमाडौं । सेयर कारोबारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । साउन २८ एकैदिन ३ नयाँ रेकर्ड बनाएको नेप्सेले आज ती सबै रेकर्ड ब्रेक गरेको छ ।

आज इतिहासकै धेरै कारोबार, सर्वाधिक कित्ता सेयर किनबेच र बजार पूँजीकरणमा नयाँ कीर्तिमान बनेको हो । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ । यो ३५ महिना यताकै धेरै हो ।

उच्च अंकले बढेको बजारमा आज २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो नेप्सेको ३ दशक लामो इतिहासकै धेरै हो । यसअघि साउन २८ गते २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, आज एकैदिन ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको छ । यो आजसम्म कुनै एक दिनमा भएको सर्वाधिक कित्ता कारोबार हो । यसअघि साउन २८ गते ६ करोड ४८ लाख कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेमा उछाल आउँदा लगानीकर्ताको सम्पत्ति आज एकैदिन ६८ अर्बले बढेर बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । यो पनि इतिहासकै धेरै हो ।

आज कारोबारमा आएको १३ मध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले बढेको छ भने फाइनान्स परिसूचक ३.०५ प्रतिशतले घटेको छ ।

आज नेपाल हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९१ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १०५ कम्पनीको मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ ।

बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आइएमई र लिबर्टी इनर्जीका सेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

आज नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

ढल्केबर-लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न, डेढ लाख ग्राहक लाभान्वित हुने Read Previous

ढल्केबर-लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न, डेढ लाख ग्राहक लाभान्वित हुने

सरकारले १०० दिन भित्र गर्ने मुख्य कामबारे छलफल, चाँडै कार्यसम्पादन सम्झौता हुने Read Next

सरकारले १०० दिन भित्र गर्ने मुख्य कामबारे छलफल, चाँडै कार्यसम्पादन सम्झौता हुने