काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न विभिन्न सहुलियत दिने घोषणा गरेको छ ।
संचालनमा आएको लामो समयसम्म यी दुवै विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि सरकारले एयरलाइन्स कम्पनीहरूलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो ।
सरकारले दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिनु सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको जानकारी दिए ।
उनले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क र हवाई टिकटमा लाग्ने भ्याट पनि २०८३ भदौसम्म नलिने योजना बनाइएको बताए । ‘सरकारले उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि तोकिएको समयका लागि नलिने सहुलियत लिएका छौं,’ उनले भने ।
इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनेको उनले जानकारी दिए । उनले अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको जानकारी दिए ।
मन्त्री पाण्डेले विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रीपरिषदमा पेश भएको बताए ।
पोखरा र भैरहवा विमानस्थल निर्माणका लागि झण्डै ४० अर्ब रुपैयाँ खर्च भएको छ । ऋण लिएर बनाइएका यी विमानस्थल पूर्ण संचालनमा नआउँदा विमानस्थलको दैनिक खर्च धान्न समेत मुस्किल भइरहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो ।
भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले केही समय उडान गरे पनि नियमित गर्न सकेन । त्यस्तै, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले मलेसियाको कोलालाम्पुरबाट सातामा एउटा उडान गर्दै आएको छ । यो बाहेक हालसम्म अन्य विमान कम्पनीले नियमित उडान गरेका छैनन् । त्यस्तै, पोखरा विमानस्थलमा केही चार्टर्ड बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड सहित ३० अर्बको लागतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो । उक्त
ऋण तिर्न ८ वर्षको ग्रेस अवधि सहित नेपालले ३२ वर्ष नेपालले पाएको छ ।
त्यस्तै, पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिइएको छ ।