केबुलकारको स्टेशनमा चारतारे होटल बन्ने

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकारको माथिल्लो स्टेशनमा स्तरीय होटल निर्माणका लागि सम्झौता भएको छ । होटल निर्माणका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले काठमाडौँस्थित चन्द्र निर्माण सेवासँग सम्झौता गरेको हो ।

 

पच्चीस महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । चारतारे होटल निर्माणका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलको कामलाई केही दिनभित्रै शुरु गरिने शर्माले जानकारी दिए ।

 

उक्त होटल निर्माणका लागि नेपाल एसबिआइ बैंकसँग ऋण सम्झौतासमेत भइसकेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट व्यावसायिक प्रमुख विनोद ढुङ्गेल र कम्पनीको तर्फबाट शर्माले हस्ताक्षर गरेका छन् । केबुलकार परियोजनाका लागि बैंकले ९७ करोड ऋण दिने सहमति भएको छ ।

 

केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ ।

 

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीय बासिन्दाको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दाबढी लगानीकर्ता रहेका छन् ।

 

केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक भ्यु टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने शर्माले जानकारी दिए । “होटल निर्माणका लागि सम्झौता भएकाले अब यसलाई निर्माणको चरणमा लैजान्छौँ”, शर्माले भने ।

 

केबुलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बटम स्टेशन भवनको लागत  १८ करोड ५५ लाख रहेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत एक अर्ब ५६ करोड रहेको छ ।

 

“केबुलकार एक वर्षभित्रै सञ्चालनमा आउनेछ, अन्य संरचना पनि साढे दुई वर्षभित्र सक्ने लक्ष्यसहित काम थालेका छौँ”, उनले भने।

 

प्रारम्भमा ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो ।

 

साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

 

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जना भन्दाबढी स्थानीयवासीले शेयर हालिसकेका छन् ।

 

केबुलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले ५० लाख शेयर लगानी गरेको छ । “परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ”, उनले भने ।

 

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ ।

 

ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

 

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बक्सा रहनेछ । रासस

हावाबाट बिजुली निकाल्न शुरु Read Previous

हावाबाट बिजुली निकाल्न शुरु

सिमेन्ट उद्योगबाट निस्कने तातो हावाबाट २ मेगावाट बिजुली Read Next

सिमेन्ट उद्योगबाट निस्कने तातो हावाबाट २ मेगावाट बिजुली