काठमाडौं । लगानीकर्ता सेयर खरिदमा आक्रमक बनेका छन् । सोमबार सेयर बजार खुलेको १ घण्टामै साढे ८ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १२ बजेसम्म ८ अर्ब ५० करोड रुपैयाँको २ करोड कित्ता बढी सेयर किनबेच भएको छ । यसआधारमा औसतमा प्रतिमिनेट करोड १४ करोड रुपैयाँ सेयर किनबेच भएको छ ।
गत असार १७ गते संगदका दुई ठूला दल नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेसँगै नेप्से लगातार उकालो लागिरहेको छ । त्यस यता नेप्से परिसूचक ९०० अंकले बढिसकेको छ ।
साथै, मौद्रिक नीतिले साथ दिँदा बजारमा उत्साह बढेको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिबाट संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएको थियाे ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।
त्यस्तै, कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।
सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।
पछिल्लो समय सेयर कारोबारमा दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । आइतबार मात्रै इतिहासमै धेरै २५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।