सेयर बजारले एकै दिन बनायो ३ नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारमा उछाल आउँदा आज एकै दिन तीन नयाँ रेकर्ड बनेका छन् । आइतबार इतिहासकै धेरै कारोबार, सर्वाधिक कित्ता सेयर किनबेच र बजार पूँजीकरणमा नयाँ कीर्तिमान बनेको हो ।

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६० बिन्दुमा पुगेको छ । यो २९ महिना यताकै धेरै हो ।

उच्च अंकले बढेको बजारमा आज २५ अर्ब ७७ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो नेप्सेको ३ दशक लामो इतिहासकै धेरै हो । गसअघि गत साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, आज एकैदिन ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच हुँदै नयाँ रेकर्ड बनाएको छ । यो आजसम्म कुनै एक दिनमा भएको सर्वाधिक कित्ता कारोबार हो । यसअघि साउन २२ गते ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । यो पनि इतिहासकै धेरै हो । यसअघि २०७८ भदौ २ गते बजार पूँजीकरण साढे ४४ खर्ब रुपैयाँ पुगेको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी र लघुवित्त समूहको परिसूचक पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ५२ करोड रुपैयाँ बढीको १५ लाख ९६ हजार ५६४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १ अर्ब १६ करोड रुपैयँँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्र मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज झण्डै डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआइडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, अपर तामाकोशी, शुभम पावर, आत्मनिर्भर लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, युनाइटेड इदी मर्दी हाइड्रोपावर, सिंगटी हाइड्रोपवार, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, एनआइसी एशिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेलीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

उद्योगमन्त्री भण्डारी कोलकत्ता पोर्टमा, लागत कम गर्ने विषयमा छलफल Read Previous

उद्योगमन्त्री भण्डारी कोलकत्ता पोर्टमा, लागत कम गर्ने विषयमा छलफल

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह Read Next

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह