टुकुचामा सडक भासिएपछि बालेनले भने-‘खोला माथि पुल बनाउनुपर्छ, घर र बाटो होइन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोला माथि सडक बनाउँदा भासिएको बताएको छ ।

बिहीबार राति दरबारमार्ग महेन्द्र सालिकबाट हात्तीसार (कृष्ण पाउरोटी)तर्फ आउने सडकमा भ्याङ परेको थियो । उक्त घटनाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बालेनले खोला माथि पुलको सट्टा बाटो बनाइएकाले सडक भासिएको बताएका हुन् ।

‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’ उनले फेसबुकमा लेखेका छन् । उनले भासिएको सडको भिडियो समेत सेयर गरेका छन् ।

उनले खोलामाथि सडक बनाउन नहुने भन्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् । महानगरले यसअघि टुकुचा खोला माथिका संरचना हटाउने कार्य थालेको स्मरण गराउँदै अब फेरि उक्त कार्यलाई निरन्तरता दिनइने उनले बताए ।

टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गाको कानून बमोजिम मुआब्जा वा क्षतिपूर्ति दिएर संरचना हटाउनुपर्ने बताएका छन् ।

‘अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ,’ उनले भनेका छन् ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।’

बेलायतले दिने १३ अर्ब अनुदान लिने सरकारको निर्णय Read Previous

बेलायतले दिने १३ अर्ब अनुदान लिने सरकारको निर्णय

कर्मचारी नहुँदा काभ्रे यातायात कार्यालयको सेवा विस्तार रोकियो Read Next

कर्मचारी नहुँदा काभ्रे यातायात कार्यालयको सेवा विस्तार रोकियो