काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पूँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए ।
गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पूँजी बजारलाई गतिशील तुल्याउने नीति अङ्गीकार गरेको बताउँदै उनले संस्थागत सेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुन सकारात्मक रहेको बताए । संस्थागत सेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छ भने सेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ ।
निम्ब एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले ६ जनाबाट प्रारम्भ गरिएको संस्थामा हाल १३० जना कार्यरत रहेका जानकारी दिए । उनले २०० भन्दा अधिक लगानीकर्ता संलग्न कम्पनीको पूँजी १० अर्ब पुगेको बताए । आफ्नो संस्थाले स्वच्छ ऊर्जा, सूचना प्रविधि, सेवा, उत्पादन, कृषि, शिक्षा, औषधि उत्पादन र घरजग्गा कारोबारमा लगानी गरेको जानकारी दिए ।