
काठमाडौं । विद्युतीय गाडी उत्पादक टेस्लाका मालिक एलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने प्रस्ताव गरेका छन् ।
च्याटजीपीटी निर्माता ओपेनएआईसँग प्रतिस्पर्धा गर्न मस्कले गत वर्ष स्थापना गरेको एक्सएआईमा उनले थप ५ अर्ब डलर लगानी गर्ने भएका हुन् ।
उनले टेस्लाको अलिकति स्रोत एक्स एआईमा लगानी गर्न चाहेका हुन् । यसबारे उनले एक्समा ५ अर्ब डलर लगानी गरौं कि नगरौं भनेर यो साता पोल (अनलाइन सर्वेक्षण) समेत गरेका थिए ।
करिब १० लाख सहभागीमध्ये दुई तिहाइले लगानीको पक्ष मत दिएका थिए । तीमध्ये कतिजना टेस्लाका लगानीकर्ता हुन् भन्ने खुलेको छैन । ‘सर्वसाधारण यसको पक्षमा देखिन्छन्, अब म टेस्ला बोर्डसँग छलफल गर्छु,’ इनलले एक्समा लेखेका छन् ।
एआई सुरक्षित छैन भनेर बेलाबखत अभिव्यक्ती दिँदै आएका मस्क आफै एक्सएआईको विस्तारमा भने नयाँ–नयाँ पहल गर्दै आएका छन् ।पूर्ण रूपमा स्वचालित गाडी (सेल्फ ड्राइभिङ भेहिकल) र टेस्लाको नयाँ डेटा सेन्टरका लागि एक्सएआई महत्त्वपूर्ण हुने एलनको दाबी छ ।
रोयटर्सका अनुसार एक्सएआईले गएको मेमा भएको सिरिज बी फन्डिङ राउन्डमा ६ अर्ब डलर लगानी संकलन गरेको थियो । त्यसयता कम्पनीको कुल मूल्यांक २४ अर्ब डलर पुगेको छ । सन् २०२२ अक्टोबरमा ४४ अर्ब डलरमा तत्कालीन ट्विटर खरिद गरेका एलनले केहीअघि मात्र एक्सका लगानीकर्ताले नै एक्सएआईको एक चौथाइ स्वामित्व लिने योजना बनाएको अभिव्यक्ति दिएका थिए । एलनले खरिद गरेयता ट्वीटर (हाल एक्स)को मूल्यांकन घटेको छ ।