बिजुली व्यापार : आयातभन्दा १२ करोड धेरैको निर्यात, बिक्री मूल्य भने सस्तो

काठमाडौं । बिजुली व्यापारमा नेपाल पहिलोपटक फाइदामा गएको छ । नेपालबाट विद्युत् निर्यात थालिएको ३ वर्षमा गत आर्थिक वर्ष २०८०/८१ मा पहिलोपटक आयातभन्दा निर्यात धेरै भएको हो ।

गत आवमा २०८०/८१ मा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ धेरैको निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आवमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । सोही अवधिमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत आवमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हो । सोही अवधिमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा बिजुली आयात गरिएकाे हाे ।

ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । हिउँदयाममा माग धान्न गत आवमा  आयात गरिएको विद्युत्को औसतदर प्रतियुनिट ९.१७ रुपैयाँ छ भने नेपालले वर्षायाममा निर्यात गर्ने विद्युत्को औसत दर प्रतियुनिट ८.७२ रुपैयाँ छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।

‘३ वर्षमै आयात कर्ताबाट निर्यातकर्ता बन्यौं’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने बताए ।

‘छ/सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो,’ उनले भने, ‘गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुङ्गा हो ।’

विद्युत्को पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ,’ उनले भने ।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रुपमा पनि प्रवेश पाएको थियो ।

दैनिक ७०० मेगावाट विद्युत् बिक्री

हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७०० मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।

कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४०० मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे । ‘हरियाणा र विहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत् निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बङ्गलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौँ,’ उनले भने ।

‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रुपमा खेर नगएको उनले जानकारी दिए ।

मौद्रिक नीतिको कमाल : नेप्सेमा शतकको छलाङ, यी २१ कम्पनीको मूल्यमा सर्किट Read Previous

मौद्रिक नीतिको कमाल : नेप्सेमा शतकको छलाङ, यी २१ कम्पनीको मूल्यमा सर्किट

नबिल बैंकको देशव्यापी 'नबिल दिगो पाइला' वाकाथन Read Next

नबिल बैंकको देशव्यापी 'नबिल दिगो पाइला' वाकाथन