काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटना बारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगलाई जाँचबुझ गरी प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।
बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सीआरजे ७ (रजिस्ट्रेसन-९एनएएमई) जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिरको क्षेत्रमा दुर्घटना भएको थियो ।
चालक दलका सदस्यसहित १९ जना सवार विमान दुर्घटनामा १८ जनाको निधन भएको छ । मृत्यु हुनेमा सबै एयरलाइन्सका प्राविधिक र कर्मचारी रहेका छन् ।
जहाजका पाइलट मनिषरत्न शाक्यको मात्रै जीवितै उद्धार गरिएको थियो । उनको अहिले काठमाडौं मेडिकल कलेज उपचार भइरहेको छ ।