काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सिमेन्ट निर्यातमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो वर्षको तुलनामा सिमेन्ट निर्यात ३९४.३९ प्रतिशतले बढ्दै हालसम्मकै धेरै निर्यातको रेकर्ड बनाएको हो ।
भन्सार विभागका अनुसार गत आवमा ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर विदेशिएको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ५ गुणा धेरै हो । अघिल्लो आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३ अर्ब ७ करोड रुपैयाँ धेरैको सिमेन्ट निर्यात भएको हो ।
विभागका अनुसार गत आवमा १ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको ५ लाख ६८ हजार ८४१ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ । त्यस्तै, १ अर्ब ९७ करोड ८ लाख रुपैयाँको २३ लाख ३२ हजार ३७६ मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि वैदेशिक व्यापार भने चम्किँदै गएको छ । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै जाँदा निर्यात बढ्दै गएको हो ।
कुल निर्यातमा साढे २ प्रतिशत हिस्सा
गत आव २०८०/८१ मा नेपालबाट हुने निर्यात ३.०३ प्रतिशतले घटेको छ । तर, सिमेन्ट निर्यात भने ३९४ प्रतिशतले बढेको हो । निर्यात सुरू भएको दुई वर्षमै सिमेन्ट नेपालबाट निर्यात हुन् प्रमुख वस्तुको सूचीमा पर्न थालेको छ ।
अहिले सिमेन्ट नेपालबाट निर्यात हुने प्रमुख १५ वस्तुभित्र परिसकेको छ । गत आवमा १ खर्ब ५२ अर्बको वस्तु निर्यात हुँदा सिमेन्टको हिस्सा २.५२ प्रतिशत पुगेको छ ।
यसअघि सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूको व्यापार घट्दै गइरहेको बेला पछिल्लो समय नेपालबाट सिमेन्ट, प्लाइवुड, डण्डी तथा फलामजन्य वस्तुको निर्यात भने ह्वात्तै बढेको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।
महिनामा आधा अर्बसम्मको निर्यात
गत आवमा नेपालबाट एक महिनामै आधा अर्ब रुपैयाँसम्मको सिमेन्ट निर्यात भएको छ । चैतमा सर्वाधिक ५० करोड २९ लाख रुपैयाँको रुपैयाँ सिमेन्ट निर्यात भएको थियो । यो हालसम्म कुनै एक महिनामा निर्यात भएको सबैभन्दा धेरै हो ।
त्यसैगरी, असोजमा ४३ करोड ४६ लाख रुपैयाँ, जेठमा, २० करोड, वैशाखमा ३२ करोड १६ लाख, चैतमा ३६ करोड, फागुनमा ४१ करोड ९ लाख, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरका निर्यात भएको विभागको तथ्यांक छ ।
गत वर्ष औसतमा मासिक ३२ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ । नेपालबाट पहिलोपटक २०७९ असारदेखि सिमेन्ट निर्यात हुन थालेको थियो । सो महिना करिब १५ लाख रुपैयाँ सिमेन्ट निर्यात भएको थियो ।
नगद अनुदानले खोलेको निर्यातको ढोका
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षको बजेटमार्फत निर्यातको ढोको खोलेको थियो । आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुड लगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।
नेपालबाट सिमेन्ट निर्यात हुन थालेको २ वर्ष भइसकेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । पहिलोपटक २०७९ असार २४ गते पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।
त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरू गरेको थियो ।
अन्य सिमेन्ट उद्योगहरूले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै महिनामै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।
नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।