काठमाडौं । काँग्रेस-एमाले गठबन्धन सरकारले देशको वर्तमान अवस्थाबाट माथि उकास्न मुख्य ५ कामलाई प्राथमिकतामा राखेको बताएको छ ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ५ कामलाई प्राथमिकता राखेको जानकारी दिएका हुन् ।
देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको उनले बताए ।
यस्ता छन् ओली सरकारका ५ प्राथमिकता
१. अधुरा काम सक्न
सरकारकाले आफ्नो पहिलो प्राथमिकतामा अधुरा विकास आयोजना सम्पन्न गर्नुलाई राखेको छ । मन्त्रालयहरूको क्षमता अभिवृद्धि गर्दै तोकिएको लागत, समय, परिणाम र गुणस्तरको काम सम्पन्न नगर्ने जुनसुकै पक्षलाई यसबाट हुने हानि–नोक्सानीका लागि जिम्मेवार बनाइ कानुनी कारबाही गर्ने प्रधानमन्त्री ओली बताए ।
खर्च गर्ने क्षमता बढाउँदै काम गर्ने र काम नगर्ने कर्मचारी बीचको फरक छुट्याउन सुरु गर्ने उनले बताए । काम गर्नेहरूले मुद्दा खेप्नुपर्ने तर काम नगर्नेहरू ‘स्वच्छ छवि’को भएर रिटायर्ड हुने स्थितिको अन्त्य गर्ने ओलीको भनाइ छ ।
त्यसैगरी, आवश्यक ऐन संशोधन लगायत कुरामा नीतिगत सुधार गर्ने र निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्ने सरकारले आफ्नो पहिलो प्राथमिकतामा राखेको छ ।
२. आयात प्रतिस्थापन र उद्योगको प्रवद्र्धन
सरकारले आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवद्र्धन गर्नुलाई आफ्नो दोस्रो प्राथमिकतामा राखेको छ । यसका लागि अर्थ लगायतका मन्त्रालयसँग समन्वय गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने प्रधानमन्त्री ओली जानकारी दिए ।
‘हामी व्यवसायमैत्री वातावरण तयार पार्नेछाैं । उद्योग व्यवसाय दर्ताका लागि सुरुकै विन्दुमा सबै प्रकारका स्वीकृतिहरू उपलब्ध हुने व्यवस्था हुनेछन्। निवेदन परेको ७ दिनभित्र स्वीकृति दिने, स्वीकृति दिन नसकिने भए कारण खोली स्वीकृति नहुने जानकारी दिने र समय लाग्ने भए के कारणले कति समय लाग्ने हो, सो कुरा खुलाई जानकारी दिने व्यवस्था गर्नेछौं । निर्धारित समयभित्र स्वीकृति नदिने कर्मचारीलाई सजायँ गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्नेछौं,’ प्रधानमन्त्रीले भने ।
स्टार्टअप, आईटी र हाइग्रोथ इन्टरप्राइजेजलाई उत्प्रेरित गरी देशभित्र आर्थिक अवसर सिर्जना गर्न अर्थ मन्त्रालयले विद्यमान कानुनी र वित्तीय संरचनाहरूको अध्ययन गर्ने उनले जानकारी दिए ।
निजी क्षेत्रलाई ‘ग्रोथ इन्जिन’ बनाई उत्पादन, उद्योग र सेवा क्षेत्रमा व्यापक लगानी गराउने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा सरकार केन्द्रित हुने उनले बताए । प्राथमिकताका आधारमा राज्यको लगानी स्वास्थ्य, शिक्षा, सुरक्षा, सामाजिक संरक्षण र ठूला पूर्वाधार निर्माण गरी ५ ठाउँमा केन्द्रित हुने उनले बताए ।
३. गरिबी, अभाव र भोकमरीको अन्त्य
सरकारले तेस्रो प्राथमिकतामा गरिबी, अभाव र भोकमरी अन्त्य गर्नुलाई राखेको छ । यसका लागि खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक गराउने बताए । यस कामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिचालित हुनेछन् । सबै पालिकामा खाद्य भण्डारको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।
निरपेक्ष गरिबी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्ने र त्यसको सुझावका आधारमा कार्यक्रम तर्जुमा गर्ने प्रधानमनत्री ओली बताए ।
४. नीति तथा कार्यक्रम र बजेट संशोधन
सरकारले चालु आवका लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेट परिमार्जन गर्नु आफ्नो चौथो प्राथमिकतालाई राखेको ।
नीति, कार्यक्रम र बजेट पास भइसके पनि परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिभित्र रही नीति, कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्नेगरी सम्पूर्ण संयन्त्र परिचालन गर्ने उनले बताए । यद्यपि, बजेटका राम्रा कुरालाई भने निरन्तरता दिने उनले बताए ।
५. भ्रष्टाचार अन्त्य
भ्रष्टाचार नियन्त्रण गर्नु सरकारको पाँचौं प्राथमिकता राखेको छ । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने प्रधानमन्त्री ओलीले बताए ।
‘कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउछौं । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउछौं,’ उनले भने, ‘ सहकारी पीडितका सम्वन्धमा उचित निर्णय लिनेछौं र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौं ।’