न्यूरोडमा पहिले पार्किङ हुनेभन्दा पनि कम क्षेत्रमा फुटपाथ विस्तार गर्न लागिएको हो : महानगर

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा पैदल मार्ग सुधार गर्दा विगतमा सवारी पार्किङ गरिएको जत्ति पनि सडकको क्षेत्रफल नओटिने काठमाडौं महानगरपालिकाले प्रष्ट पारेको छ ।

महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले अहिले फुटपाथ विस्तार गर्न लागिएको क्षेत्र पहिले मोटरसाइकल, सामान ढुवानीका साधन, कारहरु पार्किङ गरेर जति ठाउँभन्दा कम भएको जानकारी दिए ।

‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदल मार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको हो,’ उनले भने ।

महानगरले गत बुधबारदेखि न्यूरोड क्षेत्रमा पुनः फुटपाथ विस्तारको काम थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । न्यूरोडमा फुटपाथ विस्तारको आवश्यकतालाई मध्येनजर गर्दै मापदण्ड अनुसार नै काम थालिएको आयोगका उपाध्यक्ष डा. राजभण्डारीले बताए ।

उनले पैदल मार्ग विस्तारको आवश्यकता र मापदण्ड बारे जानकारी दिँदै भने ‘मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यवसायिक क्षेत्रमा २.५० मिटर, बस विसौनीमा ३ मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडाइको पैदल मार्ग आवश्यक हुन्छ । पैदल मार्ग निर्माण भएपछि यो मापदण्ड पूरा हुन्छ ।’

महानगरले गत जेठ ११ गते काम थाल्यो । काम थालेको भोलिपल्ट डिभिजन सडक कार्यालयले संस्थागत अवरोध गर्यो । यसपछि काम रोकियो । महानगरपालिकाले डिभिजन सडक कार्यालयले गरेको हस्तक्षेपविरुद्ध अन्तरिम आदेश माग गर्दै जेठ २७ गते उच्च अदालतमा रिट दायर ग¥यो । रिटमा सुनुवाई गर्दै अदालतले असार ३० गते महानगरपालिकाले मागबमोजिम अन्तरिम आदेश दियो । यसपछि पुनः काम अगाडि बढेको छ ।

महानगरपालिकाले सहरी सडकको मापदण्डबमोजिम पैदल मार्ग विस्तार गरिरहेको हो । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य भन्छन्, ‘१३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १।५ मिटर र बायाँ १.५ मिटर पैदल मार्ग विस्तार गर्ने योजना हो । यसरी पैदल मार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ् भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।’ शाक्यकाअनुसार धर्मपथ सडक खण्ड १३ मिटरको छ । नयाँ सडकका बाँकी खण्ड ११ मिटरका छन् । बाँकी सडक खण्डमा विशालबजार, पाको, प्युखा मार्ग र खिचापोखरी मार्गमा पैदल मार्ग हुन् ।

स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरिएको थियो । यसरी गरिएको गणनामा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म (१ घण्टा अवधिमा) ८ हजार ७४५ जना यात्रुले पैदल यात्रा गरेको देखियो । इन्द्रचोकमा बेलुका ७ः४५ देखि ८ः४५ सम्म गणना गर्दा २ हजार ९३३ जनाले, धर्मपथमा बेलुका ५ः१५ देखि ०६ः१५ सम्म गणना गर्दा ४ हजार ४३७ जनाले यात्रा गरेको देखिएको थियो ।

त्यस्तै, नयाँ सडक ताम्राकार हाउसतर्फबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ बजेदेखि ६ बजेसम्म १ घण्टाको अवधिमा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्यूरोड गेटतर्फ फर्काएर राखिएको क्यामराबाट बेलुका ०५ः४५ देखि ०६ः४५ बजेसम्ममा ४ हजार १२७ जना पैदल यात्रीले यात्रा गरेको देखियो ।

अध्ययनमा पैदल यात्रु शारीरिक बनावटका आधारमा निर्वाध हिँड्न आवश्यक पर्ने स्थानको आकार, यात्रुको घनत्व, उपलब्ध पैदल मार्गको विश्लेषण र सडक व्यवस्थापनका लागि प्रचलित कानुनले स्थानीय तहलाई दिएको अधिकारको विश्लेषण गरिएको आयोगका उपाध्यक्ष राजभण्डारीको भनाइ छ । यसरी हेर्दा नयाँ सडक क्षेत्रमा अहिले उपलब्ध पैदल मार्ग अपर्याप्त भएको निष्कर्षसहित मार्ग विस्तार गर्न शिफारिस गरिएको छ ।

डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाललाई फाइदाभन्दा घाटा धेरै Read Previous

डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाललाई फाइदाभन्दा घाटा धेरै

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा Read Next

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा