बजेट कार्यान्वयनमा सरकार फेल, २ पटक संशोधन गर्दा पनि भेटेन लक्ष्य

"पूँजीगत खर्च ६३ प्रतिशत मात्रै"

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको बजेटमार्फत निर्धारण गरिएका लक्ष्य भेट्टाउन सरकार असफल भएको छ । गत वर्षको बजेटमार्फत निर्धारण गरिएको राजस्व संकलन, खर्च, वैदेशिक अनुदान प्राप्ति कुनै पनि लक्ष्य पूरा हुन नसकेको हो ।

गत वर्षको बजेट पूर्वअर्थमन्त्री प्रकाशशरण महतले ल्याएका थिए । कार्यान्यवन गर्ने बेला महत ८ महिना र वर्षमान पुन ४ महिनामा पदमा थिए ।

आय व्यय लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कुल लक्ष्यको ७४.२९ प्रतिशत राजस्व असुली भएको छ भने ८०.४४ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले कुल  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कुल १४ खर्ब ८ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।

चालु शीर्षकमा गत आर्थिक वर्षका लागि ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३.४१ प्रतिशत अर्थात् ९ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

पूँजीगत खर्च ६३ प्रतिशत मात्र

विगतका वर्षहरूमा झै गत वर्ष पनि पूँजीगत खर्चले गति लिन सकेन । पूँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख विनियोजन भएकोमा लक्ष्यको ६३.४७ प्रतिशत अर्थात् १ खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च ८६.०७ प्रतिशत छ । गत आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा २ खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्व संकलन लक्ष्यभन्दा ३ खर्ब ७९ अर्ब कम

सरकारले गत आर्थिक वर्षका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर वार्षिक लक्ष्यको ७४.२९ प्रतिशत अर्थात् १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ मात्रै राजस्व असुली भएको छ । सङ्कलित राजस्वमध्ये कर राजस्व लक्ष्यको ७२.३५ र गैरकर राजस्व लक्ष्यको ९७.६८ प्रतिशत बराबर असुली भएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख बराबर कर राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ४४ अर्ब ५५ लाख ४८ हजार रुपैयाँ बराबर मात्रै असुली भएको छ । त्यस्तै, गैरकरतर्फ १ खर्ब १७ अर्ब छ करोड २१ लाख उठाउने लक्ष्य राखिएकोमा १ खर्ब १४ अर्ब ३४ करोड १६ लाख रुपैयाँ मात्रै असुली भएको छ ।

११ अर्ब मात्रै आयो वैदेशिक अनुदान

गत आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ सरकारी लक्ष्यको तुलनामा वास्तविक प्राप्ति निकै कम छ ।गत आवमा कुल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले २२.४८ प्रतिशत अर्थात् ११ अर्ब २२ करोड ६४ लाख रुपैयाँ मात्र अनुदान लिन सकेको देखिएको हो ।

२ पटक संशोधन गर्दा समेत लक्ष्य भेटिएन

आयव्यय अनुमान २ पटक संशोधन गर्दा पनि सरकारले लक्ष्य भेटाउन सकेन । सरकारले पहिलो पटक अर्धवार्षिक समीक्षामार्फत् र दोस्रोपटक गत आर्थिक वर्षको बजेट ल्याउँदा आयव्यय अनुमान संशोधन गरेको थियो ।

गत जेठ १५ गते निवर्तमान अर्थमन्त्री वर्षमान पुनले सरकारी आयव्यवको अनुमान दोस्रोपटक संशोधन गर्दै १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७.४ प्रतिशत हुने गरी संशोधित अनुमान प्रस्तुत गरेका थिए ।

कुल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड रुपैयाँ अर्थात् विनियोजनको ९३.५ प्रतिशत, पूँजीगततर्फ २ खर्ब १५ अर्ब ३० करोड (७१.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ४७ अर्ब ५५ करोड (विनियोजनको ८०.५ प्रतिशत) खर्च हुने गरी  संशोधित अनुमान गरिएको थियो ।

त्यस्तै, दोस्रोपटक संशोधनपछि गत आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य सरकारले तय गरेको थियो । त्यसअघि सरकारले गत आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै गत माघमा पहिलो पटक राजस्व र खर्चको अनुमान घटाएको थियो ।

गत आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएकोमा अर्धवार्षिक समीक्षामार्फत् सुरू विनियोजनको ८७.३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको थियो ।

अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८.८४ प्रतिशत, पूँजीगत शीर्षकमा ८४.१३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७.३९ प्रतिशत खर्च हुने गरी पहिलोपटक संशोधित अनुमान गरिएको थियो ।

अर्धवार्षिक समीक्षामार्फत् आयव्ययको अनुमान घटाएर चालुतर्फ रू १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख प्रतिशत अर्थात् सुरूआती विनियोजनको ८८.२४ प्रतिशत, पूँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात सुरूआती विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात सुरूआती विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

लयमा फर्किँदै चीनको अर्थतन्त्र, जीडीपी ५ प्रतिशतले बढ्यो Read Previous

लयमा फर्किँदै चीनको अर्थतन्त्र, जीडीपी ५ प्रतिशतले बढ्यो

बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम Read Next

बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम