काठमाडौं । हेलिकप्टर पाइलटहरूले भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याडबाट उडान नगर्ने निर्णय गरेका छन् ।
असार ७ गतेदेखि संचालनमा आएको उक्त हेलिप्याडमा हवाई सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले आजदेखि कुनै पनि उडान नगर्ने निर्णय गरेका हुन् ।
अहिले सबै हेलिकम्पटर ग्राउन्डेड गरेका छन् । उनीहरूले नलिञ्चोक हेलिप्यार्डमा इन्धन भर्ने सुविधा नभएको, पार्किङ क्षेत्र सानो रहेको, वरिपरी उच्च भू-भाग, टेलिकमको टावर, ट्रान्समिसन लाइनका कारण उडान र अवतरणमा समस्या भएको बताएका छन् ।
समस्या बारे उनीहरूले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका थिए । त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि आजदेखि उडानै बन्द गर्ने निर्णय गरेका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने लक्ष्यमा साथ संचालनमा ल्याइएको उक्त हेलिप्यार्डमा दुई सातामै समस्या देखिएको हो ।
करिब रु ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ ।करिब ३३ रोपनी क्षेत्रफलमा बनेको हेलिप्याडमा १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता छ । एकपटकमा ४ टेक अफरल्यान्डिङ गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।