अर्थतन्त्रको बाह्य क्षेत्र ३ वर्ष यताकै बलियो, तथ्यांकमा हेरौं १० मुख्य सूचक

काठमाडौं । अर्थतन्त्रको बाह्य सूचक ३ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

विदेशी मुद्रा संचिति, रेमिट्यान्स आप्रवाह हालसम्मकै धेरैको रेकर्ड बनाएको छ । त्यस्तै, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता लगायत सूचकमा पनि निकै सुधार देखिएको छ ।

विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र बलियो भइरहँदा आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मूल्यवृद्धि पछिल्ला ४ महिनादेखि लगातार सीमाभन्दा तल रहेको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा लगानी, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।

यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचितिको पौने १९ खर्ब : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति जेठ मसान्तसम्म २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । जेठ मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब ७२ करोड डलर संचिति छ ।

२. १ वर्षको आयात धान्ने विदेशी मुद्रा : डेढ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलुक श्रीलंका जस्तै बन्छ भन्ने आतंक फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । जेठसम्म राष्ट्रिय ढुकुटीमा १ वर्ष बढीको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।

आव २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

३. साढे १३ खर्ब रेमिट्या भित्रियो : चालु वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार औसतमा मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिँदै आएको छ । जेठ मसान्तसम्म विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएर १३ खर्ब २७ अर्ब करोड पुगेको छ । यो कुनै पनि एक आवमा भित्रिएको सबैभन्दा धेरै हो ।

४. शोधनान्तर स्थिति ४२७ अर्ब बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म शोधान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब रूपैयाँ बचतमा थियो ।

त्यस्तै, चालु खाता २ खर्ब ३९ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

५. व्यापार घाटामा १.७ प्रतिशतले कमी : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको जेठको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा १.७ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रू १४ खर्ब ५३ अर्ब ७० रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ३ प्रतिशतले कमी आई रू. १ खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ ।

६. सरकारको खातामा साढे २ खर्ब नगद मौज्दात : चालु आवको जेठ मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ बढी नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु६५ अर्ब ३६ करोड रूपैयाँ मात्र थियो।

७. निक्षेप ९ र कर्जा ५.१ प्रतिशतले बढ्यो : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन ९ प्रतिशत अर्थात् ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ५.१ प्रतिशतले बढेको छ । चालु वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।

८. आधारदर ८.१७ प्रतिशत झर्यो : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० जेठमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.०७ प्रतिशत रहेकोमा २०८१ जेठमा २.९९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० जेठमा ६.६९ प्रतिशत रहेकोमा २०८१ जेठमा २.९५ प्रतिशत रहेको छ ।

त्यस्तै, २०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.१७ प्रतिशत, विकास बैंकहरूको ९.९६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरूको १२.४७ प्रतिशत र वित्त कम्पनीहरूको १३.५५ प्रतिशत रहेको थियो।

२०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत रहेको छ ।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८१ जेठमा वाणिज्य बैंकहरूको १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरूको १२.८५ प्रतिशत रहेको छ । २०८० जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत, विकास बैंकहरूको १४.४७ प्रतिशत र वित्त कम्पनीहरूको १५.०६ प्रतिशत कायम भएको थियो ।

९. मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित : चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा झरेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशतले घटेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको४.६३ प्रतिशत र हिमालको४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो ।

१०. आम्दानी र खर्च बीचमा २६२ अर्बको खाडल : यस अवधिमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच २ खर्ब ६२ अर्ब रुपैयाँको खाडल देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठसम्म सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ छ भने राजस्व संकलन (आम्दानी) ९ खर्ब १९ अर्ब १९ करोड रुपैयाँ मात्र छ । यस अवधिमा सरकार १ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँमा घाटामा छ । समीक्षा अवधिमा सरकारको खर्च ०.४ प्रतिशतले बढेको छ भने राजस्व संकलन ९.८ प्रतिशतले बढेको छ ।

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने Read Previous

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने

ग्लोबल आइएमई बैंकले जापान पढ्न जाने विद्यार्थीलाई ऋण दिने Read Next

ग्लोबल आइएमई बैंकले जापान पढ्न जाने विद्यार्थीलाई ऋण दिने