धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बियो, पुरानै आदेशलाई निरन्तरता

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

असार १८ गते सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश दिएको थियो । शुक्रबार सर्वोच्चका न्यायाधीसद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले पनि १८ गतेकै आदेशलाई निरन्तरता दिएको हो ।

अब अदालतले उक्त मुद्दाको अर्को पेसी साउन दोस्रो साता तोकेको छ । यससँगै बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिएको छ ।

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले अध्यक्ष छनोट प्रक्रिया रद्द विरुद्ध असार १७ गते सर्वोच्चवमा रिट दायर गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको बोर्ड अध्यक्ष छनोट समितिको असार १४ गते बसेको बैठकले अध्यक्ष छनोट प्रक्रिया रद्द गरेको थियो । समितिले महान्यायाधिवक्ता कार्यालयको राय अनुसार छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।

सरकारले गत माघ ४ गते आयोगका उपाध्यक्ष डा। श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा। नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियो ।

समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो ।समितिले सोही राय अनुसार छनोट प्रक्रिया नै रद्द गरेको थियो ।

अध्यक्ष छनोट प्रक्रिया रद्द भएपछि अन्तर्वार्ता समेत दिएका सन्तोष नारायण अदालत पुगेका थिए ।

वेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको लज्जास्पद हार, लेबरले जित्यो झण्डै दुईतिहाई सिट Read Previous

वेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको लज्जास्पद हार, लेबरले जित्यो झण्डै दुईतिहाई सिट

प्यान नम्बर अद्यावधिक गर्न एनआइसी एशिया बैंकको आग्रह Read Next

प्यान नम्बर अद्यावधिक गर्न एनआइसी एशिया बैंकको आग्रह