काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को तेस्रो सुरुङमार्गको पनि ‘ब्रेक थ्रु’ भएको छ ।
यसअघि दुई वटा सुरुङमार्ग ‘ब्रेक थ्रु’ भइसकेकोमा बिहीबार मकवानपुरको लेनडाँडास्थित १६२२ मिटर लामो सुरुङमार्गको पनि ‘ब्रेक थ्रु’ गरिएको हो ।प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङ ब्रेक थ्रूको अवलोकन गरेका थिए ।
प्याकेज नम्बर २ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा दुई वटा सुरुङ निर्माण भइरहेको छन् । त्यसमध्ये आज निजगढबाट काठमाडौं आउने (दायाँ) सुरुङको ब्रेक थ्रु गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि ४ जेठमा फास्ट ट्रयाकको लेनडाँडामै रहेको काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गरिएकाे थियो ।
त्यस्तै, गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो ।
फास्ट ट्रयाकमा हाल तीन ठाउँ धेद्रे, लेनडाँडा र महादेव टारमा जोडी सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये लेनडाँडाका दुवै सुरुङ ब्रेक थ्रु भएको छ । त्यस्तै, महाँदेवटारका दुईटै र धेद्रेको एउटा ब्रेक थ्रु हुन बाँकी छ ।
फास्ट ट्रयाककै लामो महादेवटार ३ हजार ३५५ मिटर लामो सुरुङ निर्माण भइरहेको छ । यसको पनि ८० प्रतिशत बढी काम पूरा भइसकेको छ ।
यी बाहेक फास्ट ट्रयाकमा थप ३ सुरुङमार्ग निर्माण हुने छन् । २ हजार २५० मिटरको चन्द्राम भीर, १ हजार मिटरको देविचौर र ३९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा छन् ।
द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा प्याकेजमा विभाजन गरी काम गरिरहको छ । जसमा प्याकेज नं. १ देखि ७ र १० को ठेक्का लागेर हाल धमाधम काम भइरहेको छ । बाँकी खण्डको भने ठैक्का लाग्न बाँकी छ । २०८३ चैतसम्म म्याद रहेको आयोजनाको हालसम्म भौतिक करिब ३४ प्रतिशत रहेको छ ।