काठमाडौं । गत वैशाखमा १६ र १७ गते सम्पन्न लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेका आयोजनामा लगानीकर्ताले लगानी गर्न अनिइच्छुक देखिएका छन् ।
सरकारले लगानी सम्मेलनका क्रममा १२ वटा आयोजनामा आशयपत्र मागेको थियो । तीमध्ये २ वटा आयोजनामा मात्रै लगानीको प्रस्ताव आएको छ । १० आयोजनाका लागि कुनै आवेदन नपरेको हो । यद्यपि, ४ आयोजनमा आवेदन दिने म्याद अझै बाँकी छ ।
लगानी बोर्डले सुरुमा एक महिनाको समयावधि राखेर आशयपत्र मागेको थियो । सो समयमा स्वदेशी–विदेशी लगानीकर्ताले लगानीको इच्छा नदेखाएपछि फेरि एक महिना समय थप गरेको थियो ।
लगानी बोर्डले आवेदन मागेको दुई महिनापछि १२ वटा आयोजनामध्ये ८ वटाको आशयपत्र खोलेको हो । तर ८ मध्ये जम्मा २ वटा आयोजनामा स्वदेशी लगानीकर्ताले लगानी गर्ने इच्छा देखाएका छन् ।
दुई वटा कम्पनीले दुई फरक–फरक कम्पनीमा लगानीको इच्छा देखाएका हुन् । लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचलले लगानीको प्रस्ताव गरेको छ ।
लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत २ अर्ब ३५ रुपैयाँ करोड छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ ।
त्यसैगरी, विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौंले आशयपत्र पेस गरेको छ ।
कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड रुपैयाँ छ ।
यी आयोजनामा परेन आवेदन
बोर्डले आशयपत्र माग गरेका ६ वटा आयोजनका लागि कुनै पनि आवेदन परेका छैनन् । पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध म्याटर्निटी हस्पिटलमा लगानी गर्न कुनै आवेदन नपरेको हो ।
विभिन्न चारवटा आयोजनाका लागि भने आशयपत्र पेस गर्ने समय यही असार २८ गतेसम्म रहेको छ । नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानीकर्तालाई २०२४ जुलाई १२ तारिखसम्म प्रस्ताव पेस गरिसक्न समयावधि तोकिएको छ ।
तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न १९ वटा आयोजनामा लगानी जुटाउन परियोजना प्रस्तुत गरिएका थिए । पहिचान भएका ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढाइएका थिए ।