काठमाडौं । संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच नयाँ सरकार बनाउने समझदारी भएको छ । सोमबार राति कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद ओली बीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको हो ।
लामो समयको गृहकार्यपछि दुई ठूला दल सत्ता सहकार्य गर्न लागेका हुन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । र, पहिलो चरणमा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने समझदारी छ ।
दुई दलबीच संविधान संशोधन गर्न सर्वोच्वका पूर्वप्रधानन्यायाधीश कल्याणप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ ।
दुई दल बीच प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्ने, समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन गर्ने सहमति भएको छ ।
त्यसैगरी, ७ प्रदेशमध्ये एमाले र काँग्रेले ३/३ प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मधेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै छाडदिने भएका छन् ।
दुई दल बीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।