काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।
एनएचपीसीले आज डीपीआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले जानकारी दिए । ‘परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डीपीआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डीपीआर तयार हुनेछ,’ सहसचिव अधिकारीले भने । अन्तिम डीपीआर तयार भएपछि परियोजना विकास सम्झौता (पीडीए) प्रक्रिया अघि बढ्नेछ ।
७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको एसआर–६ आयोजनाको विस्तृत परियोजना अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न २०७९ भदौ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भइ विसं २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो ।
सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र डीपीआर तयार गरी लगानी बोर्डको कार्यालयमा पेस गर्नेगरी उक्त सम्झौता भएको थियो ।
त्यसअघि, २०७९ जेठ २३ गते बसेको लगानी बोर्डको ५१औँ बैठकले यी दुई आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । त्यस्तै २०७९ साउन २३ गते बसेको लगानी बोर्डको ५२औँ बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।
परियोजनाको अन्तिम डीपीआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ । त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डीपीआरले मार्गदर्शन गर्नेछ । डीपीआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पीडीए हुनेछ ।
यसअघिको अध्ययनअनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत १ हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत ८०० मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियाे ।