उपत्यकाका ४ ठाउँमा लाइसेन्सको ट्रायल खुल्यो

काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै एक महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) खुल्ने भएको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्रायल सेन्टरहरूलाई सेवा सुचारु गर्न पत्र पठाएसँगै १ महिनादेखि बन्द ट्रायल परीक्षा आइतबारदेखि खुल्ने भएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकामा संचालित ४ ट्रायल सेन्टरको स्थलगत अध्ययन गरी मापदण्ड पूरा नभएको भन्दै ट्रायल रोक्न निर्देशन दिएको थियो । जसकारण जेठ पहिलोसातादेखि ट्रायल परीक्षा बन्द भएको थियो ।

अहिले ट्रायल सेन्टरहरूले केन्द्रले भने अनुसार सुधार गरेपछि पुनः सेवा सञ्चालन गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरु भक्तपुर, चाबहिल, गुर्जुधारा र ठूलोभर्याङलाई पत्रचार गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अनुसार जेठ ३ गतेदेखि भक्तपुरको इजी वे ट्रायल सेन्टर, गुजुधारको भेइकल एकेडेमी तथा रिसर्च सेन्टर, गोकर्णश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि र एकान्तकुनाको सुजुकी ड्राइभिङ स्कुलमा ट्रायल परीक्षा बन्द भएको थियो । ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अब सम्बिन्धत यातायात कार्यालयहरूले आफ्नो अनुकूल अनुसार ट्रायल संचालन गर्ने छन् । हालसम्म अरु कार्यालयले भने ट्रायल खुल्ने बारे सूचना जारी गरेका छैनन् ।

मन्त्रालयको पत्र आएसँगै यातायात व्यवस्था कार्यालय, भक्तपुरले भोलि (शुक्रबार)देखि आफ्ना सेवा सुरू हुने जानकारी गराएको छ ।

कार्यालका अनुसार भोलि (शुक्रबार) राजस्व बुझाउनले आइतबारदेखि ट्रायल परीक्षा दिन पाउने छन् । ‘यस कार्यालयको पूर्व प्रकाशित सूचना बमोजिम स्थगित भएको राजस्व बुझाउने, समय लिने र ट्रायल दिने सेवा भोलिबाट सुरु हुने भएको छ,’ सूचनामा भनिएको छ ।

आइतबारदेखि बाइक, स्कुटर र मझौलाको (ए/के र बी) वर्गको ट्रायल दिन पाइने भएको छ । मिनी बस/मिनी ट्रक तथा ट्रक, बस, लहरी (एफ/जी वर्ग)को ट्रायलका लागि पछि सूचना निकालिने कार्यालयले जनाएको छ ।

 

म्याद सकिनै लाग्दा सुपर न्यादीको अझै ३५ प्रतिशत काम बाँकी Read Previous

म्याद सकिनै लाग्दा सुपर न्यादीको अझै ३५ प्रतिशत काम बाँकी

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न Read Next

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न